बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको ताला खुल्यो

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको ताला खुल्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८२, मंगलबार

पोखरा/ पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा मंगलबार भएको तालाबन्दी मंगलबारै खुलेको छ । करार सेवाबाट बर्खास्त गरेका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले महाशाखाको च्यानल गेटमा तालाबन्दी गरेका थिए । उनीहरु माघ २६ गतेदेखि आन्दोलित छन् ।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा रहेको सुशासन समितिलाई समस्या समाधानका लागि जिम्मा दिएपछि गेटमा लागेको ताला खुलेको हो । सुशासन समितिलाई महानगरमा समग्र स्वास्थ्यतर्फको जनशक्ती व्यवस्थापन र आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्ने विषयमा जिम्मेवारी दिइएको छ ।

आन्दोलनरत कर्मचारीले दिनहुँजसो महानगरपालिका कार्यालय परिसरमा निरन्तर धर्ना दिँदै आएका छन् । करारमा सेवामा रहेका ५८ जना कर्मचारीलाई पोखरा महानगरपालिकाको नगरसभाले पुसदेखि हटाउने निर्णय गरेको थियो । महानगरको निर्णय विरुद्ध उनीहरु माघ १ गते सर्वोच्च अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । तर, पनि पोखरा महानगरपालिकाले हाजिर हुन नदिएको भन्दै करारमा काम गर्दै आएका कर्मचारी निरन्तर धर्ना दिएकोमा, मंगलबार तालाबन्दी गरेका हुन् ।

उनीहरुले महानगरले सर्वोच्च अदालतको अन्तिरिम आदेश अपहेलना गरेको भन्दै रिटसमेत दर्ता गरेका छन् । सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिर हुन पाउनुपर्ने माग उनीहरुको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->