बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीका अस्पतालहरूको स्तरोन्नति हुँदै, प्रदेश मन्त्रिपरिषद्को बैठकबाट सहमति प्रदान

गण्डकीका अस्पतालहरूको स्तरोन्नति हुँदै, प्रदेश मन्त्रिपरिषद्को बैठकबाट सहमति प्रदान


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८२, मंगलबार

पोखरा / गण्डकी प्रदेश मातहत रहेका अस्पतालहरुको स्तरोन्नति हुने भएका छन् । यस सम्बन्धमा सोमबार साँझ सम्पन्न गण्डकी मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्न सहमति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले सहमति दिएको हो ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले धौलागिरी प्रादेशिक अस्पताल र मध्यबिन्दु प्रादेशिक अस्पताललाई ५० शैय्याबाट १०० शैय्यामा स्तरोन्नति गर्ने प्रस्ताव पेश गरेका थिए। मुस्ताङ र मनाङ जिल्ला अस्पताललाई २५ शैय्या तथा अन्य जिल्ला अस्पताललाई ५० शैय्याका अस्पतालमा स्तरोन्नति गर्न मन्त्री पाठकले प्रस्ताव गरेकोमा मन्त्रिपरिषद्ले स्तरोन्नतिको सहमति दिएको हो ।

उक्त प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति प्रदान गरेपछि अस्पतालहरूको स्तरोन्नतिको काम अगाडि बढाउन बाटो खुलेको मन्त्री पाठकको भनाइ छ। हाल गण्डकी प्रदेश सरकारको मातहतमा रहेका स्वास्थ्य संस्थामा ३ सय ९५ शैय्याको क्षमता रहेकोमा स्तरोन्नतिसंगै ७ सय शैय्याको हुने छ। प्रदेशको स्वास्थ्य सुधारका लागि अस्पतालहरूको स्तरोन्नति ऐतिहासिक कदम रहने मन्त्री पाठकको दावी छ ।

स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएकोले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि अस्पतालको स्तरउन्नति र विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालय लागि परेको मन्त्री पाठकले बताए ।

यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गरिएको थियो। पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताए।

मन्त्रालयका अनुसार अस्पतालहरूमा पाँच सय ६४ जनाको स्थायी दरबन्दी रहेकामा एक सय ८७ को पदपूर्ति हुन बाँकी छ। आठ सय बढी करार जनशक्तिसहित हाल एक हजार १३३ जना प्रदेश मातहतका अस्पतालमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ। अस्पताल स्तरोन्नति हुँदा पदपूर्ति हुन बाँकीसहित कुल एक हजार २४४ को दरबन्दी व्यवस्थापन गर्नुपर्ने पाठकले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->