पोखरा/ अस्पताल संचालनार्थ महायज्ञ लगाएर संकलन गरिएको रकम अस्पतालमा कोष स्थापना गरी अस्पतालको बिकासमा खर्च गरिने भएको छ । पोखरा-१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका लागि महायज्ञबाट उठेको डेढ करोड भन्दा बढी रकम नागरिक सहयोग समुहको नाममा खाता खोलेर बैंकमा राखिएको थियो ।
यस सम्बन्धी समाचार बुधवारको ढोरपाटन दैनिकमा प्रकाशन भएपछि समुहका संयोजक डा. छममाया पुन र सचिव मोहन सुनारसहितको टोलीले आज विहीबार अस्पताल बिकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलसंग भेट गरी उक्त रकम अस्पतालको विकासमा खर्च गर्न सहमती जनाएका छन् ।
भेटका अवसरमा उक्त रकम कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ । विशेष गरी अक्षय कोष बनाएर गरीव तथा असहायलाई सहयोग गर्ने, भौतिक संरचना तथा उपकरण खरीद गर्नेलगायत विभिन्न बिकल्पमा कुराकानी भएको थियो । पहिलो कुरा रकम सुरक्षित रहेको जानकारी गराउँदै उक्त रकम अस्पतालको बिकासको लागि कसरी खर्च गर्ने भन्ने विषयमा छलफल भएको समुहका सचिव मोहन सुनारले बताए । ‘हामीले व्यवस्थित रुपले काम गर्न खोजेका हौ’, सुनारले भने, ‘पैसा पहिल्यै अस्पताललाई हस्तान्तरण गर्ने योजना थियो । तर अस्पताल प्रशासनबाट अलि चासो नदिएकाले अहिलेसम्म रोकिएको मात्र हो ।’ उनले यस विषयमा छिटै साधारण सभा बसेर छलफल गरी रकमको सही सदुपयोगबारे निर्णय गर्ने बताए । उक्त रकमलाई अक्षय कोषमा राख्ने र प्राप्त हुने ब्याजलाई कसरी परिचालन गर्ने भन्ने विषयबारे अहिले आफुहरुको सोंचाई रहेको उनको भनाई थियो ।
अस्पताल बिकास समितिका अध्यक्ष पौडेलले उक्त रकम अस्पतालको हितमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको जनाए । रकम परिचालनमा हुनसक्ने विभिन्न बिकल्पमाथि कुराकानी भएको उनको भनाई थियो । ‘रकम केमा कसरी खर्च गर्ने भन्ने विभिन्न विषयमा छलफल भयो’, उनले भने, ‘अस्पताल बिकास समितिको पनि छिटै बैठक बसेर यस विषयमा एउटा निर्णयमा पुग्छौ ।’
साविक बाटुलेचौर हेल्थपोष्ट रहेको स्थानमा पोखरा–कोमागाने सम्बन्धको दशौं वर्षगाँठको अवसरमा मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) को निर्माणार्थ भन्दै २०६६ साल फागुन ३ देखि १० गतेसम्म श्रीमद् भागवत बिराट ज्ञान महायज्ञ गरिएको थियो । त्यतिबेला स्थानीय दाताले चन्दा सहयोग गरेका थिए । अस्पतालको मुल भवनको अगाडि मार्वलमा पनि ७५५ जना चन्दादाताहरुको नामावली लेखेर टाँसिएको छ । केही खर्च कटाएर डेढ करोड रुपैयाँ बचेको थियो । सोही पैसा लामो समयसम्म अस्पतालमा नआएको समाचार ढोरपाटनले पहिलोपटक प्रकाशन गरेको थियो । उक्त रकम समुहको नाममा बैंकमा राखिएको छ । अस्पताल सरकारलाई हस्तान्तरण भएसंगै अस्पतालको सबै चलअचल सम्पत्ति र जनशक्ति पनि हस्तान्तरण हुनुपर्नेमा महायज्ञमा उठेको रकम भने हस्तान्तरण भएको थिएन ।
यसैगरी अस्पताललाई सहयोग गर्ने भन्दै २०७८ मा गठित अर्को नागरिक सहयोग समितिको खातामा पनि १० लाख रुपैयाँ रहेको छ । उषा बरुवाल अध्यक्ष भएको बेला २०७८ साल असार २१ गते अस्पताल बिकास समितिको बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो । तत्कालीन पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच २०५८ वैशा १ मा भगिनी सम्बन्ध कायम भएपश्चात् दुई सहरको सम्बन्धलाई अझ प्रगाढ साथै चीरस्थायी बनाउने मनसाय बमोजिम एउटा स्वास्थ्य संस्था स्थापना गर्ने उद्देश्य राखिएको थियो । सोही उद्देश्य अनुसार भगिनी सम्बन्धको दशौं वर्षगठाको अवसरमा मातृशिशु मितेरी अस्पताल स्थापना भइ २०६९ कात्तिक २३ देखि सेवा सुरु गरेको थियो । हाल यो अस्पताल गण्डकी प्रदेश मातहत छ ।





