बागलुङ/पछिल्लो समय बढ्दै गएको आत्महत्या न्युनिकरणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले मानसिक सचेतना तथा पैरवी अभियान संचालनमा ल्याएको छ । पहिलो पटक बागलुङ नगरपालिका वडा नंं १ को रामरेखाबाट यो अभियान शुरु भएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
पछिल्लो समय मानसिक स्वास्थ्थबारे सचेतना अभावले पनि धेरैजनाले ज्यान फालेको देखिएकोले यो अभियानमा पुगेको उनले बताए । स्वास्थ्य कार्यालयले हालसम्म सर्ने तथा नसर्ने रोगबारे बढी सचेतना अभियान चलाउने गरेकोमा यो पटक भने मानसिक स्वास्थ्यको क्षेत्रमा पनि काम थालेको हो । यो अभियानलाई जिल्लाव्यापी बनाउने उसको योजना छ ।
‘विद्यालय उमेरदेखिनै मानसिक स्वास्थ्यबारे ख्याल नगरे युवाहरु मृत्युको मुखमा पुग्ने अवस्था भएकोले यो कार्यक्रम तय भएको हो’ उनले भने, ‘आत्महत्या न्युनिकरणमा परिवारका सदस्य पनि सचेत बन्नुपर्ने छ ।’ एक सदस्यको मृत्युले परिवारका अन्य सबै सदस्यमा आउने नैराश्यताले पनि थप जोखिम निम्त्याउने उनले बताए ।
गत आर्थिक वर्ष बागलुङमा ६२ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । यो तथ्यांक हरेक वर्ष बढ्दो छ । आर्थिक वर्ष २०७८÷०७९ मा ४४ जनाले आत्महत्या गरेकोमा २०७९÷०८० मा बढेर ५३ पुगेको थियो । चालु वर्षको चैत मसान्तसम्म ४३ जनाले आत्महत्या गरिसकेका छन् ।
यो तथ्यांक डरलाग्दो बन्दै गएको प्रहरी निरीक्षक सुनिल चिलवालले बताए । आत्महत्या गर्नेमा १८ वर्ष मुनिका ११ जना छन् भने २५ वर्ष मुनीका २० जना छन् । अधिकांस ४५ वर्ष भित्रका छन् । ‘उत्पादनमुलक काममा लाग्नुपर्नेहरुले नै आत्महत्या गरेको देखिन्छ’ उनले भने, ‘सानो समस्यामै आत्महत्यामा पुग्नेहरु बढी छन् ।’ युवाहरुलाई नै यस्ता घटनाबाट बचाउनुपर्ने आवस्यकता देखिएको उनले बताए । सामान्य आर्थिक संकट व्यहोरेकादेखि प्रेममा परेकाहरु यस्तो घटनामा बढी संलग्न छन् ।
आत्महत्या बढ्नुमा गर्भ अवस्थामा शिशुले पाउने स्याहार र समाजको रहनसहनमा भरपर्ने धौलागिरि आयुर्वेद अस्पतालका डा. सरोज पन्थीले बताए । ‘आत्महत्या रोग होइन, तर उसको पारिवारिक अवस्था र संगतको फल हो’ उनले भने, ‘पाचन प्रणाली कमजोर भएमा पनि दिमागमा नकरात्मक हर्मोन उत्पादन भएर मर्ने सोचमा मानिस पुग्छन् ।’
स्वास्थ्य कार्यालयले त वडा र पालिका तहमा मानसिक सचेतना तथा पैरवी कार्यक्रम नै चलाउने निधो गरेको छ । वडाका जनप्रतिनिधि,, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयमसेविका, सामुदायिक प्रहरी, नागरिक अगुवालाई सचेतना अभियानमा जोडिएका छन् । उनीहरुले विद्यालय तहमा पुगेर सचेतना कार्यक्रम चलाउने छन् । हरेक विद्यालयका कक्षा ८ देखि १२ सम्मका बालबालिकामा आत्महत्या निरुत्साहित गर्ने कार्यक्रम गर्ने योजना छ ।
अघिल्लो महिना बागलुङमै १२ र १४ वर्षका बालकले पनि आत्महत्या गरेका थिए । विद्यालय तहबाटै आशा जगाउने खालका कार्यक्रम गरेर घटनाको न्युनिकरण गराउनुपर्ने जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा बताउँछिन् ।
बिहिवारको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रहरी निरीक्षक सुनिल चिलुवाल, बागलुङ नगरपालिकाका प्रमुख हरिदत्त कंडेल समेत सहभागि भए । कार्यक्रममा चिलुवालले प्रहरीको तथ्यांक पेश गरेका थिए भने प्रजिअ गुरुङले आत्महत्या न्युनिकरणमा समाजका हरेक सदस्यको भूमिका बारे प्रष्ट पारेका थिए ।





