बागलुङ / दिल-गंगा प्रधान स्मृति कोष बागलुङको १९औँ पुरस्कार एवं सम्मान कार्यक्रम शुक्रबार बागलुङ बजारमा एक कार्यक्रमका विच सम्पन्न भएको छ। सोही कार्यक्रममा यसवर्षको स्मृति सम्मान समाजसेवी तथा पत्रकार बेलुकाजी थापालाई सम्मान गरियो ।
समाजसेवी बेलुकाजी थापालाई स्मृति कोषका तर्फबाट बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, संस्थाका अध्यक्ष काजि रोशन र संरक्षक दिपक चन्द्र प्रधानले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका थिए । सम्मानित व्यक्तित्व समाजसेवी थापाको परिचय कोषका सचिव अगम पालिखेले दिए ।
कार्यक्रममा विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वशिक्षक दिलप्रसाद प्रधान र श्रीमती गंगा देवि प्रधानको स्मृतिमा विद्यामन्दिर माध्यमिक विद्यालयबाट एसईई परीक्षामा उच्चतम अंक ल्याउने आयुस्मा चौलागाई र लेखानी माध्यमिक विद्यालयबाट उच्चतम अंक ल्याउने सुप्रिया श्रीषलाई जनही ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, सम्मानित व्यक्तित्व बेलुकाजी थापा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरिञ्जिवि श्रेष्ठ, विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मी, कोषका संरक्षक दिपकचन्द्र प्रधानले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम दिल-गंगा प्रधान स्मृति कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, कोषाध्यक्ष नवराज श्रेष्ठको स्वागत र सहसचिव युक्तजंग राजभण्डारीको सञ्चालनमा समपन्न भएको थियो ।





