पाेखरा/ गण्डकी प्रदेशका सांसदहरुले वर्षायम सुरु भएकाले मनसुनजन्य विपद्को न्यूनीकरण, व्यवस्थापन, उद्धार र राहतका लागि संवेदनशील हुन सरकारसंग अनुरोध गरेका छन् । आजदेखि सुरु बर्खे अधिवेशन अन्तर्गत प्रदेश सभाको बैठकमा शुन्य समयमा बोल्दै उनीहरुले विपद्लगायत अन्य विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद डिल्लीराम सुवेदीले जल तथा मौसम विज्ञान विभागले ३० वर्षयताकै ठूलो वर्षा हुने संभावना रहेको देखाएको र यसप्रति सबैको चासो रहेको उल्लेख गरे । विपद्का लागि सरकारले हाल गरिरहेको व्यवस्थापन भन्दा यसपटक अतिरिक्त व्यवस्थापनको खाँचो रहेको भन्दै उनले सरकारका सबै संरचनालाई चुस्त र दुरुस्त राख्नुपर्ने बताए । अर्की सांसाद टीकाकुमारी बस्यालले मनसुनजन्य विपद्बाट हुनसक्ने मानवीय र अन्य भौतिक क्षतिलाई कम गर्न सरकार संवेदनशील भएर इमर्जेन्सी फन्ड र उद्धारका लागि तालिमप्रपत टीमको व्यवस्था गर्नुपर्ने बताइन् ।
मुस्ताङका सांसद विकल शेरचनले गत वर्षको तुलनामा सरदर भन्दा ४५ प्रतिशत भन्दा बढी पानी पर्ने र तापक्रमको पनि बृद्धि हुने पुर्वानुमान गरिएको भन्दै हिमाली जिल्लाका हिमतालको अवस्था र त्यसबाट हुनसक्ने जोखिमको आँकलन गर्नुपर्ने बताए । उनले जोखिमपूर्व गर्नुपर्ने काम सरकारले गर्नुपर्ने माग गरे । साथै प्रदेशका मन्त्रीहरुको कार्यसम्पादन र क्षमतामाथि गुनासो उठिरहेको उनको भनाई थियो । सांसद पंचराम गुरुङले स्याङजाको आँधिखोला–५ जुग्लेबजारका १० घर अहिल्यै जोखिममा परिसकेको भन्दै बस्ती जोगाउनु पर्ने माग गरे । सांसद सुशीला सिंखडाले उत्तरी गोरखाको चुमनुब्री–३ सिर्दीबासको दोयलबस्ती तत्काल सार्न माग गरिन् । म्याग्दीका सांसद हरिबहादुर भण्डारीले गण्डकी प्रदेशका यो वर्षायाममा ५५ देखि ६२ प्रतिशतसम्म बढी वर्षा हुने संभावना देखाएको भन्दै यसबाट सबैभन्दा बढी जोखिममा म्याग्दी परेको उल्लेख गरे । मनसुनजन्य विपद्को न्यूनिकरण, उद्धार, व्यवस्थापन राहतको अवस्था के छ भनेर उनले प्रदेश सरकारसंग प्रश्न गरे ।
पर्वतका सांसद भक्तबहादुर कुँवरले आफ्नो निर्वाचन क्षेत्रमा गत र अघिल्लो वर्ष ठेक्का लागेका बहुवर्षे योजनाको काम अघि बढ्न नसकेको जानकारी गराए । बजेट अभाव वा ठेकेदारको लापारवाहीले गर्दा सडक निर्माणको काम अलपत्र परेको उनको भनाई थियो । दोबिल्ला, सिल्मी, ठूलीपोखरी, खौला, कार्कीनेटा सडक, मिलनचोक, घायाखेत, धारापानी, धाइरिङ सडक, मिलनचोक, रातामाटा, भोटेडाँडा, सालिजा सडक र गंगटे आर्थर सडकलगायतमा समस्या भएको भन्दै उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराए । कास्कीका भीमबहादुर कार्कीले ठेक्का लागेका योजनाका ठेकेदार हराएकाले योजना अलपत्र परेको भन्दै उनीहरुलाई खोजेर काममा लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । स्याङजाका भोजराज अर्यालले ४ पटकसम्म संसदमा आवाज उठाउँदा पनि सरकारले ध्यान नदिएको गुनासो गरे । उनले आफ्नो निर्वाचन क्षेत्रमा गत वर्षायाममा हजारौ रोपनी जग्गा, घर, सिंचाइ र खानेपानीका योजना क्षतिग्रस्त भएर अरबौको क्षति भएको दोहोराए ।
सांसद प्रकाश बरालले सरकार र सांसदलाई बजेट बनाउने चटारो भएजस्तै धेरै उत्पादन गर्ने फेवाफाँटका किसान आश र त्रासमा रहेको बताए । गतवर्ष गवारोबाट एक करोड २८ लाख क्षति व्यहोरेका किसानहरु राहतको आसमा अझै रहेको भन्दै उनले अव खेती गर्नेकी नगर्ने भन्ने द्विविधामा किसान रहेको बताए । गवारो नियन्त्रण र गत वर्षको क्षतिको राहत दिने योजना के छ भनेर उनले सरकारको जवाफ मागे । स्याङजाका महेश भट्टराइले रासायानिक मलको अभाव रहेकाले छिटो किसानलाई उपलब्ध गराउन माग गरे । स्याङजाकै सीताकुमारी सुन्दासले वर्षायाममा मजदुर किसानकोलागि विशेष सहयोगको माग गरिन् । तनहुँका श्यामराजा महतले योजना सम्पन्न भएर उपयोगमा नआएको बताए ।
सांसद दमयन्त्ती रुचालले रुकुमपश्चिमको चौरजहारीमा २०७७ मा भएको नवराज बिकसहित ६ युवाको हत्याको मुद्धामा उच्च अदालत सुर्खेतले यही बैशाखमा जातिय विभेद नभएको भन्ने फैसलालाई मानवबिरोधीको संज्ञा दिइन् । यस्तो फैसलाले संवैधानिक र कानुनी अधिकारको उपहास गरेको र न्यायालयले पीडितमाथि थप पीडा दिएको भन्दै पुनरावलोकनको माग गरिन् । अर्की सांसद नन्दकला दमै नेपाली पोखराको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक देवीलाल शर्माले विद्यार्थी अमन परियारमाथि जातिय विभेद हुनेगरी अपमान गरेको भन्दै शर्मालाई कानुनी कारवाहीको माग गरिन् । सांसद देवका पहारी त्रिपाठीले प्रदेशको आर्थिक समृद्धिको सपना पुरा गर्न महिलाको उद्यमशिलता, सीप बिकास, बित्तीय पहुँच र सामाजिक न्याय हुनुपर्ने र महिलाको आर्थिक सशक्तिकणका लागि छुट्टै कार्ययोजना, नीति र कार्यक्रम र बजेटको व्यवस्था हुुनुपर्ने उनको माग थियो ।





