बागलुङ/१८ औं गणतन्त्र दिवसको अवसरमा बागलुङमा विभिन्न कार्यक्रमको आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । जिल्ला समन्वय समितिका संयोजक तथा गणतन्त्र दिवस मुल समारोह समितिका प्रमुख अमर थापाको अध्यक्षतामा बसेको गणतन्त्र दिवस २०८२ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।
नेपाल सरकारले गरेको परिचयपत्र बमोजिम सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा भएको बैठकले जेठ १४, १५ र १६ गते निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने एवं साँझ सम्पूर्ण कार्यालयहरु र जिल्लाबासीका घर घरमा दीप प्रज्ज्वलन गर्ने रक्तदान कार्यक्रम, बालबालिकालाई स्टेशनरी सामाग्री वितरण, गणतन्त्र दिवसमा अवसरमा संवाद लगाएतका कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ ।
स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमवाट गणतन्त्रको महत्वका विषयमा विभिन्न सन्देशमूलक कार्यक्रमहरु प्रकाशन(प्रशारण र परिसंवाद कार्यक्रम गर्ने व्यवस्था पत्रकार महासंघले मिलाउने र बागलुङ नगरपालिकाको संयोजनमा गणतन्त्रको महत्व र विशेषता सहितको जिङ्गल तयार गरी प्रशारण गर्न महासंघलाई अनुरोध गर्ने निर्णय भएको छ ।
जेठ १४ गते विहान ७ बजे बागलुङ नगरपालिकाको संयोजनमा ऐतिहाँसिक पार्कमा भेला भई बागलुङ बजार क्षेत्रका विभिन्न स्थानहरुमा सामुहिक सरसफाई कार्यक्रम सञ्चालन गर्ने विहान ८ः३० बजे नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको संयोजन एवं धौलागिरी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम संचालन गर्ने, दिउसो ११ बजे उद्योग बाणिज्य संघको संयोजनमा मानवसेवा आश्रममा खाद्यान्न वितरण गर्ने अपरान्ह ३ बजे शिक्षा विकास तथा समन्वय इकाई र सामाजिक विकास कार्यालयको संयोजनमा फरक क्षमता भएका विद्यार्थीहरुका लागि बागलुङ विशेष बालकक्षा उपल्लाचौरमा हितकर समाग्री वितरण गर्ने, अपरान्ह ४ बजे गैर सरकारी संस्था महासंघको संयोजनमा बागलुङ कारागारमा रहेका कैदी बन्दीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने निर्णय भएको छ ।
यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको दिन विहान ७ बजे राजनैतिक दलका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, शिक्षण संस्था, धार्मिक संघसंस्था, गैरसरकारी संघ संस्थाहरु, सहकारी संस्थाहरु, महिला समूह, आमा समूह, टोल विकास संस्थाहरु, प्राध्यापक, शिक्षक सेना, प्रहरी, कर्मचारीहरु, विद्यार्थी एवं आम जनसमुदाय सबै आ–आफ्नो पहिचान झल्कने व्यानर पोशाकमा ट्राफिक चोकमा भेला भई राष्ट्रिय झण्डा सहितको प्रभातफेरी गरी लोकतान्त्रिक चोकमा मूलसमारोह कार्यक्रममा परिणत हुने भएको छ ।
साँझ अन्तरपार्टी महिला सञ्जालको संयोजनमा ऐतिहासिक पार्कमा सामुहिक दिप प्रज्ज्वलन र चियापान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।
जेठ १६ गते दिउसो ११ बजे नेकपा माओवादी केन्द्रको संयोजन र जिल्ला स्थित क्रियाशिल राजनैतिक दलहरुको समन्वय र सहकार्यमा गणतन्त्रको महत्त्व विषयक वृहद छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिए ।





