सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बडिगाड २ मा खानेपानी अभाव

बडिगाड २ मा खानेपानी अभाव


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०८२, मंगलबार
?

बागलुङ/बडिगाड २ का ८० वर्षीय प्रेमलाल पोखरेललाई ४५ वर्ष पुरानो पानी अवरुद्ध भएकोमा सबैभन्दा बढी पीरमा छन् । उनी प्रधानपञ्च भएको बेला २०३८ सालमा उनकै अगुवाइमा तारेभीर खानेपानी आयोजना संचालन गरिएको थियो ।

गाउँलेहरुले महिनौंसम्म श्रमदान गरेर पाइप लाइन खनेका थिए । झण्डै १५ किलोमिटर लामो पाइप लाइनबाट पानी आएको थियो । उक्त पानीले तत्कालीन दगातुडाँडा गाविसका २ सयबढी घरले खानेपानी पाएका थिए । अझै कतिपय घरमा पाइप लाइन लैजान बाँकी थियो । घर छेउको मुलको पानी खाएकाहरुले पाइपलाइन लगेका थिएनन् । आजकल पानीका साना मुल सुक्दै गएपछि मात्र गाउँलेहरु उक्त पानीको श्रोतको खोजीमा छन् । तर, यतिबेला उक्त श्रोतमा अबरोध आएको छ ।

बडिगाड गाउँपालिका नं. १ र २ मा ल्याएको पानीको श्रोत वडा नं. ४ का बासिन्दाले अबरुद्ध गरेर पानी खान थालेपछि पुरानो मुहानमा अबरोध आएको पोखरेलले बताए । उनले समस्या परेको भए वडा नं. ४ को जलजलामा पनि अर्को योजना संचालन गर्न सुझाए । तर वर्षौदेखि खाइपाइ आएको मुहान अवरोध नगर्न सुझाए । उनले गाउँपालिकाले सबैलाई खानेपानीको जोहो गरिदिन पनि पोखरेलले आग्रह गरे । ‘म प्रधानपञ्च भएको बेला पानी ल्याएको हो, अहिले सुकेकाले दुःख लाग्यो,’ उनले भने, ‘गाउँमा अझै पानी पुगेको थिएन, भएको मुहान रहेन ।’ उनले दिगो योजना बनाएर लगानी गर्न सुझाव दिए ।

जलजलाको तारेभीरबाट वडा नं. १ को तुम्डाँडामा पानी ल्याइएको हो । उक्त पानी सानो भएकोले स्थानीयहरु रातिदेखि नै धारोमा पुगेर लाइन बस्दै पानी भर्नुपर्छ । ‘हामीले राति ३ बजे उठेर पानी थाप्न निस्कनुपर्छ,’स्थानीय अनिल गिरीले भने, ‘त्यो पनि पानी पुग्दैन ।’ मानिसले खानेपानी पनि अभाव भएपछि पशु चौपायालाई झनै सास्ती भएको उनले बताए ।

उनको मात्र यो समस्या होइन, स्थानीयले पानी खान नपाएपछि दैनिक वडाध्यक्षको कार्यकक्षमा समेत दबाव दिने धेरै पुग्छन् । वडा अध्यक्ष बोमबहादुर थापाले पनि वडाको पैसाले काम गर्न नसक्ने भएपछि पालिका गुहारेको बताए । वडामा आयोजित सार्वजनिक सुनुवाइमा पनि स्थानीयको पहिलो माग नै खानेपानी ल्याउनुपर्ने भन्ने छ ।

वडा नं. ४ का बासिन्दाले आफ्नो क्षेत्रको श्रोत भएकोले पहिलो प्राथमिकता आफ्नो भएको दाबी गर्छन् भने दगातुम्डाँडाका बासिन्दाले ४५ वर्षदेखि खाएको पानी कटौती गर्न नहुने बताउँछन् । अन्य विकल्प नभएकोले जलजलामा अर्को श्रोत खोजी गरिदिन पनि स्थानीयले माग गरे । गाउँपालिका प्रमुख गण्डकी थापा अधिकारीले वडाबासीलाई शुद्ध पानी खुवाउने दायित्व भएकोले उचित निकासको खोजी गर्ने र श्रोत सुनिश्चित गर्ने बताइन् ।

हाल यो पानीको विवाद न्यायिक समितिसम्म पुगेको छ । उपाध्यक्ष भीमसेन वनले कसैलाई हराउने र जिताउने भन्दापनि पानी सबैले पाउने गरी मेलमिलाप गराउने प्रयासमा रहेको बताए । ‘आवस्यक श्रोतको खोजी गरेर सबैले पानी खाने वातावरणको खोजीमा छौँ,’ वनले भने, ‘गाउँमा बस्नेहरुले पहिलो शर्त नै पानी खान पाउनुपर्छ भन्ने हो ।’ त्यसका लागि विज्ञको सल्लाह, पानीका श्रोतको खोजी र मेलमिलाप उत्तम विकल्प भएको उनले बताए ।

गाउँपालिका पूर्ण सरसफाइ घोषित गर्ने अभियानमा पनि खानेपानीको समस्या बाधक बनिरहेको छ । त्यस बाहेक खेतीपातीमा सिंचाइ अभाव समेत भएकोले अन्य श्रोतको खोजी गर्ने, वर्षातको पानी संकलन पद्धति ल्याउने र लिफ्ट विधिको खोजी गरेर ‘एक घर एक धारा’ अभियान संचालनलाई पुर्णता दिने अध्यक्ष थापाले बताइन् ।

धेरै पुरानो योजना भएकोले तारोभीर खानेपानी योजनाका दर्जन बढी धाराहरु जीर्ण भैसकेका छन् भने कतिपय स्थानमा त पानी आउनै छाडिसकेको छ । आएको स्थानमा पनि बिहानमा मात्रै आउने गरेको हो । पानी अभावले शुद्ध खान नपाएको, होटललगायतका पेशामा हात हाल्न पनि समस्या भएको स्थानीयको गुनासो छ ।

यो क्षेत्र मकै जोनमा सूचीकृत छ । तर, सिंचाइ अभावमा तरकारी लगायतको नगदेबाली लगाउन नसकेको स्थानीय भीमकुमारी भुजेलले बताइन् । पालिकाले भने सिंचाइ अभाव भएकोले खेतीपातीभन्दा पशुचौपाया पालनमा ध्यान दिएको छ । ठूलो पशु फर्म संचालन गर्नेलाई अनुदान दिएर बजारीकरणमा साथ दिने लक्ष्य बनाएको थापाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->