बागलुङ/बागलुङको जैमिनी नगरपालिकाले आठ घरविहिन परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । जैमिनीले आर्थिक रुपमा विपन्न परिवारलाई ओत लाग्नको लागि नयाँ घर हस्तान्तरण गर्नुका साथै प्राकृतिक विपतरबाट प्रभावित तेह्र घरपरिवारलाई घर निर्माणमा साथ समेत दिएको हो ।
आर्थिक वर्ष २०८०÷०८१ मा सम्झौता भएका घरविहिन जैमिनी ८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा नं. ३ उपल्लो दमेकका गिरी बहादुर परियार, तुलबहादुर घर्ति, वडा नं. ९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा नं. १० राङखानीका हरिमाया थापा, वडा नं. ४ सर्कुवाकी देउरुपा सार्की, जैमिनी वडा नं. ८ छिस्तीकी नरवदी पुन घर्तिलाई नयाँ घर निर्माणका लागि दुई÷दुई लाख रुपियाँ भुक्तानी गरिएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार, चालु आर्थिकवर्षमा परिमार्जित कार्यविधिअनुसार मुल्यांकनका आधारमा आर्थिक अवस्था कमजोर भई घरविहिन बनेकालाई २ लाख, घरविहिनलाई ३ लाख र विपत् प्रभावित घरविहिनलाई २ लाख ५० हजार रुपियाँ भुक्तानी गरिने छ ।
यस्तै, प्राकृतिक विपतबाट प्रभावित तेह्र घरपरिवारलाई जिल्ला विपत् कोषसंग सहकार्य गरेर घर निर्माण नगरपालिकाले साथ दिएको छ । कुश्मीसेराका डिल कुमारी पुन, बिनामारेका मनु हमाल, बुद्वि कुमारी जैसी, दमेकका रुपा बहिक, विष्णु प्रसाद सापकोटा, पैयुथन्थापका शुक्रबिर सार्की, टिकाराम शर्मा, रुपा नेपाली, अर्जेवाका फर्सबहादुर कामी, प्रकाश विक, राङखानीका याम बहादुर दर्जी, जैदीकी तुलसी शाही र बिनामारेका विष्णु शर्माको घर पुननिर्माणमा कुल लागतको १५ प्रतिशत नगरपालिकाले साझेदारी गरेको हो ।
यस्तै, जैमिनी नगरपालिकाले पचपन्न खरका छाना विस्थापित गरेको छ । खरका छाना विस्थापित गरेर नगरपालिकाले जस्तापाता उपलब्ध गराएपछि गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवारहरू हर्षित बनेका छन् । जस्तापाताले घर छाएपछि वर्षेनि छाना फेरिरहनु पर्ने विपन्न परिवारको बाध्यता अन्त्य भएको उनीहरुको भनाई छ ।
आगलागी र मनसुनजन्य विपतबाट नागरिकलाई जोगाई सुरक्षित आवास निर्माणका लागि खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले बताए । ‘‘नागरिकको सुरक्षित आवास भएमात्रै विकास निर्माणका काम गर्न सकिने भएकाले खरका छानामुक्त गर्ने अभियान चलाइएको हो’’ शर्माले भने । विपन्नलाई खरको छानामुक्त गर्ने योजनाले ठूलो राहत मिलेको शर्मा बताउँछन् ।
जैमिनीले आफ्नै बजेटबाट खरका छाना विस्थापित गरेको हो । खरको छाना विस्थापित हुँदा हरेक वर्ष छाउनुपर्ने समस्याको अन्त्य हुनुका साथै आगलागीको जोखिम समेत कम भएको जैमिनी वडा नं. २ दमेककी कृष्ण कुमारी विकले बताइन् । ‘‘खरको छाना हुँदा वर्षामा चुहेर घरभित्र ताल पथ्र्याे, आगलागीको डर पनि उत्तिकै थियो’’ विकले प्रसन्न हुँदै भनिन्, ‘‘जस्ताले धुरी छाएपछि ढुक्क भएर सुत्न पाईएको छ ।’’ जैमिनीले खरका छाना विस्थापित गर्न लाभग्राहीलाई २१ देखि ४५ हजार रुपियाँसम्म उपलब्ध गराएको थियो ।
जैमिनीले आगामी चैत मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्नेगरी बालमैत्री स्थानीय शासनयुक्त नगरको अभियान थालेको छ । भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर सुधार गरेर लीड विद्यालयको लक्ष्य पूरा गर्ने तयारी गरेको नगरपालिकाले सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ । जैमिनी नगरपालिकाले जग्गा वर्गिकरण, सडक गुरुयोजना, सरसफाइ योजना र विपत प्रतिकार्य योजना बनाएर लागू गरिसकेको छ ।
किसानका लागि निशुल्क कल सेवा, नाफा प्रोजेक्ट संचालन, अलैंची जोनमा समावेश तथा कृषि एम्बुलेन्स खरिद गर्ने जैमिनीको तयारी छ । कृषिका पकेट र ब्लकका कार्यक्रम संचालन गरेको जैमिनीले हलगोरु पाल्ने किसानलाई सम्मान र प्रोत्साहन दिने, उत्पादनमा आधारिक अनुदान समेत दिएको छ । पर्यटन प्रवद्र्धनतर्फ गाजा दहलाई व्यवस्थित बनाउने, सिद्दबराहको मुर्ती निर्माण, हाडिकोटमा पुर्वाधार, थन्थाप भगवतीलाई व्यवस्थित बनाउने, रिठेडाँडामा पर्यटकीय पुर्वाधार बनाउने काम नगरपालिकाले गरेको छ ।





