काठमाडौं / सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेकपा एस संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सोडारी अघिल्लोपटक प्रदेशसभा सदस्य भएको २०७४ माघ ०७ गतेदेखि मिति २०७९ फागुन १० गतेसम्मको जम्मा पाँच वर्षको आयव्ययका आधारमा सोडारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्दा दर्ता भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ।
अख्तियारका अनुसार २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सोडारीको तलबभत्ता, पत्नीको बचत, छोराको पारिश्रमिकलगायत ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक आय देखिएको साथै यस अवधिमा जग्गा खरिद, घर निर्माणलगायतमा १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ खर्च देखिएको छ ।
आम्दानी र खर्चको तुलना गर्दा सोडारीले १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ गैरकानूनीरूपमा आर्जन गरेको देखिएकाले सोबराबरको बिगो मागदाबी गरिएको छ ।
उनले आयोगसमक्ष पेस गरेको सम्पत्ति विवरणमा समेत वास्तविक सम्पत्तिको लुकाएको पुष्टि भएकाले लुकाई छिपाई राखिएको सम्पत्ति जफतको दाबी गरिएको छ । अख्तियारका अनुसार निजले सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र प्रदेश सांसद हुँदा पदिय मर्यादाविपरीत कार्य गरेकाले थप सजायको माग गरिएको छ ।
गैरकानूनीरूपमा कमाएको सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैङ्क मौज्दात देखिएकाले उक्त सम्पत्ति जफतका लागि दुईजनालाई प्रतिवादी बनाइएको छ ।





