पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्ने तर नियमन गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमको आइतवार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।
‘प्रेस स्वतन्त्रतामाथि सरकारले कहिल्यै पनि हस्तक्षेप गर्दैन, तर नियमन भने आवश्यक छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘पत्रकारहरुले सकारात्मक सोचको विकास गर्ने र केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्नु पर्दछ ।’
गणतन्त्रात्मक राज्य व्यवस्था ल्याउनका लागि संचार जगतको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै मुख्यमन्त्री पाण्डेलेयसलाई जोगाउने भुमिकाका लागि पत्रकारहरुको महत्त्वपूर्ण हात रहने बताए ।
गण्डकी प्रदेश सरकारले आमसंचार विधेयक जारी गरी प्रदेश सरकार मिडियामैत्री छ भन्ने पुष्टि गरिसकेको दावी गर्दै उनले अव प्रेस रजिस्ट्रार कार्यालयमार्फत मिडिया जगतका लागि नविनतम कार्यक्रम संचालन गरिने जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले राइड सेयरिङ सम्बन्धि बिधेयक छिटै कार्यान्वयनमा जाने समेत बताए । प्रदेश सरकारले आवश्यकता अनुसार कानूनहरु बनाउने गरेको बताउदै उनले बनेका कानून अक्षरस कार्यान्वयन गर्ने दावी गरे । उनले सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धि नियमावली केही समयकालागी संघ सरकारसंगको समन्वयमा रोकिएको भएपनि छिट्टै कार्यान्वयनमा जाने बताए ।
महासंघका अध्यक्ष रमेश पौडेलले समयको माग अनुसार तालिमको आयोजना गरिएको बताउदै तालिममा सिकेका कुराहरुले भोलिका दिनमा रिपोर्टीङ गर्न सहज हुने बताए । नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले शुभकामना मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव जमुना शर्र्मा वर्षाले र स्वागत उपाध्यक्ष प्रकाश पौडेलले गरेका थिए ।
गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको भोलीसम्म सञ्चालन हुने तालिममा प्रदेशभरीका ५० जना पत्रकारहरुको सहभागिता रहेको महासचिव शर्माले बताइन् ।





