पोखरा/ कांग्रेस सांसद महेश भट्टराईले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणमा खैरोकोट (मन्त्री र सांसद) भन्दा निलोकोट (कर्मचारी) हावी भएको बताएका छन् । यस्तो अवस्थामा मन्त्री भएर बस्नुको के अर्थ रह्यो भन्ने प्रश्न गर्दै उनले प्राथमिकता तोकेर योजना र बजेट विनियोजन गर्नुपर्नेमा त्यस्तो हुन नसकेको बताए ।
गण्डकी प्रदेश सभाको आजको बैठकमा भट्टराईले सबै जिल्लामा समानुपातिक हिसावले बजेट विनियोजन नभएको पाइएको भन्दै असन्तुष्टि जनाए । प्रदेश सभामा आज भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयका विषयमा छलफल भएको थियो । ‘नेपाल मात्र नभएर संसारभर देखिने बिकास भनेको पूर्वाधार हो । पूर्वाधार बिकासको संकेतले बिकासको मुल आधारलाई निर्धारण गर्दछ’, उनले भने, ‘प्रदेश सरकारले पूर्वाधारलाइ महत्व दिएर धेरै बजेट विनियोजन गरेको हो तर समानुपातिक वितरण भने भएन ।’ आवस्यकताका आधारमा योजना छनौट गर्नुपर्नेमा हुन नसकेको उनको भनाई थियो ।
तनहुँको भानुस्थित चिदीखोलामा धेरै बजेट विनियोजन गरिएको र त्यो कसले हालेको हो ? त्यस्तो किन भयो ? भन्ने बारे छलफल हुनुपर्ने उनले बताए । चिदीखोला अर्थसचिव राजेन्द्रदेव पाण्डेको गृहगाउँ हो । यसैलाई लिएर उनले निलो कोट हावी भएको बताएका हुन् । सांसदले दिएको महत्वपूर्ण योजना थन्क्याएर एकै ठाउमा बजेट थुप्रिदा कस्तो अवस्था होला भन्ने उनको जिज्ञासा थियो । उनले मन्त्रीलाई सधै मन्त्री हुने होइन भन्दै संवेदनशील भएर उत्कृष्ट काम गर्न आग्रह गरे । बजेट आउनु पूर्व सातआठ दिन मन्त्रीहरुको मोबाइल स्वीच हुँदा राम्रो बजेट आउने सोंचेको तर बजेट हेर्दा मन्त्रीले कुनै होमवर्क गरेको नदेखिएको उनले बताए ।





