पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद गणेशमान गुरुङले प्रदेशका अभिभावक मानिएका दलका नेता र मुख्यमन्त्रीले प्रदेशको बिकासका लागि के भिजन ल्याउनु भयो भन्दै प्रश्न गरेका छन् । प्रदेश सभामा भौतिक पूर्वाधार मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिदै सोमबार उनले यस्तो प्रश्न गरेका हुन् ।
अहिलेको बजेटमा प्रदेश गौरवका योजना के हुन ? प्रदेशले गर्न खोजेको कुरा के हो ? संघीयता र प्रदेशलाई कमजोर बनाउने कोहो भनेर जनताले पनि हेरेका छन् भनदै गुरुङले यी कुराको जवाफ सरकराले दिनु पर्ने माग गरे । ‘मुख्यमन्त्री ज्यू तपाई प्रदेशकै मुख्यमन्त्री, सबै दलको नेता हो’, उनले भने, ‘प्रदेशको कार्यक्रम के हो हामी जान्न चाहन्छौ । आफ्नै घर र छिमेकी देख्ने बाहेक गर्व गर्न लायक योजना केही देखिएन ।’
अहिलेको बजेटले प्रदेशको बिकास नभई आफ्नो घर, टोल, छिमेकी, वडा, क्षेत्र र जिल्लाको विकास गर्न दलको नेता, मुख्यमन्त्री, मन्त्री हुनुपर्ने, नीति तथा योजना आयोगको उपाध्यक्ष र मन्त्रालयको सचिव हुनुपर्छ भन्ने भएको उनले बताए । यस्तो कुराले माननीयको काम रहेनछ भन्ने कुरा जनताबाट आएकाले यसको जवाफ पनि दिनुपर्ने उनले बताए । ‘प्रदेशको गौरवको योजना बन्छ भने, पर्यटन राजधानी पोखरालाइ केही हुन्छ भने, कोरला नाका, रुइला नाका र त्रिवेणी नाकाको विकास हुन्छ भने मेरो निर्वाचन क्षेत्रमा बजेट परे पनि नपरे पनि वास्ता गरिन’ उनले भने, ‘तर त्यस्तो देखिएन, यो अति नै भयो । यस्तो तरीकाले संघीयता र प्रदेशलाई बलियो बनाउँदैन ।’
उनले भौतिक मन्त्रालय अन्तर्गत गोरखा १ अर्ब ५९ करोड १२ लाख (१५.२५ प्रतिशत), कास्कीमा २ अर्ब १ करोड ४० लाख (१९.२८ प्रतिशत) बजेट विनियोजन भएको बताए । यसैगरी गोरखको एउटा निर्वाचन क्षेत्रमा ३.८१ प्रतिशत बजेट अर्थात् ३९ करोड ७८ लाख रुपैयाँ र कास्कीमा पनि एउटा निर्वाचन क्षेत्रमा ३.२१ प्रतिशत बजेट गएको उनले तथ्यांक पेश गरे । तर मनाङ जिल्लाभर २९ करोड ४० लाख र मुस्ताङको एउटा क्षेत्रमा ९ करोड ६३ लाख रुपैयाँ विनियोजन हुँदा बजेट कसरी समन्यायिक, समनता, र बराबरी भयो भन्ने प्रश्न पनि उनले गरे । बजेट बहुवर्षीय योजनाको दायित्वबाट पन्छिएको भन्दै संघीयता र प्रदेश बलियो बनाउन र आम जनताको विश्वास जितेर अघि बढ्न सरकारलाई शुभकामना दिए ।





