पोखरा/ गण्डकी प्रदेश सभामा माओवादी केन्द्रले भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयको खर्च घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेको छ ।
आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेट माथिको छलफलका क्रममा सोमबार माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा पुनले उक्त प्रस्ताव पेश गरेकी हुन । उनले प्रदेश सरकारको बजेटको प्राथमिकता र कार्यसम्पादनमाथि प्रश्न उठाउँदै बजेटप्रति दलको तर्फबाट असहमति जनाइन् । ‘मन्त्रालयको बजेट वितरणमा भूगोलभन्दा व्यक्तिलाई प्राथमिकता दिइएको छ’, उनले भनिन्, ‘यसर्थ मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्दछु ।’ बजेटले सामाजिक र भौगोलिक न्याय गर्न नसकेको उनको आरोप थियो ।
एउटा जिल्लाको भन्दा एउटा योजनाको बजेट धेरै रहेको भन्दै उनले नयाँ योजनामार्फत गोरखामा ६५ करोड १० लाख, कास्कीमा ७५ करोड १६ लाख, तनहुँमा ३५ करोड ८५ लाख र मुस्ताङमा ९ करोड ५३ लाखमात्रै बजेट बिनियोजन गरिएको बताइन् । ‘यो समन्यायकि हो भने ताली पड्काएर बजेट अगाडि बढाउनु होला’, उनले भनिन्, ‘तर यसरी जानु हुदैन ।’
आगामी वर्ष भौतिक मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्व १३ अर्ब ६५ करोड रहे पनि बजेटले यसलाई प्राथमिकतामा नराखेको उनले बताइन् । जम्मा ६ अर्ब ६ करोड दायित्व भुक्तानीको लक्ष्य राखिएको, ७ अर्ब ५८ करोड दायित्व बाँकी रहेको र पूजीगत बजेट ११ अर्बमध्ये ५ अर्व ४२ करोड नयाँ योजनाका लागि छुट्टाइएको उनले बताईन । ‘जसको हातमा कलम छ, पहुँचमा हुनुहुन्छ । उहाँहरुको पोल्टामा बढी बजेट लगिएको छ’, उनले भनिन्, ‘बजेट बनाउन प्रदेशभित्रका सबै क्षेत्र र जनताको कन्ट्रीब्यूसन छ । तर पहुँचवालाले मात्र पोल्टामा पार्दा समस्या हुदै जान्छ । योजना अलपत्र पर्न सक्छन् । ।कम्तीमा पनि ६० प्रतिशत दायित्व घटाएर ४० प्रतिशत मात्र नयाँ योजना थप्नु पर्नेमा त्यसो हुन सकेन ।’





