पोखरा/ मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
उक्त अवसरमा पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा–१७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा खाद्यान्न सामाग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरिन् । एकेडेमीले खेलकुदको गतिविधिसंगै सामाजिक कामलाई समेत अगाडी बढाएकोमा आभार प्रकट गर्दै जननेता मदन भण्डारीले देखाएको बाटोमा अगाडी बढ्नुनै अहिलेको आवश्यकता रहेको उनले बताइन् ।
मदन भण्डारीलाई जनताले मानेको एक नेता भएकाले भण्डारीको बिचारलाई अंगीकार गरि मदन भण्डारी स्पोर्टस एकेडेमीले दीनदुखीको सेवामा लागि परेको र आफु पनि लागि पर्ने उनको भनाई थियो । मानवरहित सडक निर्माणका लागि मानव सेवा आश्रम लागिपरेको र त्यसका लागि संघसंस्था र व्यक्तिहरुले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।
मानव सेवा आश्रम पोखराका प्रमुख सदिश पुनले एकेडेमीले छोरेपाटनमा आश्रित आमा र बालबालिकाका लागि खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । पुनका अनुसार मानव सेवा आश्रम छोरेपाटन शाखामा एक सय जना आमा तथा बालवालिका र हेम्जा शाखामा १ सय ७० जना आश्रित रहेको र उनीहरुको लागि स्वदेश र विदेशमा रहेको नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगमा खानेबस्ने र उपचारको ब्यवस्था मिलाइएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले एकेडेमीले खेलकुदका गतिविधिसंगै सामाजिक सेवामा समेत अगाडी वढिरहेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो । एकेडेमीका उपाध्यक्ष सुजन आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन एकेडेमीका कोषाध्यक्ष सूर्यमोहन आचार्यले गरेका थिए ।





