बागलुङ÷महान्यायाधिवक्ता रमेश बडालले नेपालको फौजदारी न्याय पीडितमैत्री नभएको बताएका छन् । उनले तत्काल फौजदारी कानूनको कार्यान्वयन गर्दा पीडितमैत्री बनाउने प्रयास थालेको बताए ।
सोमबार बागलुङमा आयोजित कार्यक्रममा उनले सरकारी बिगो भराउनेभन्दा पीडितलाई क्षतिपूर्ति दिलाउने जिम्मेवारी पहिलो बनाउने बताए । नेपाल कानून व्यवसायी परिषद, गण्डकी परिषदले आयोजना गरेको ‘कानून व्यवसायीको लागि फौजदारी कानून सम्बन्धी ४४ घण्टे तालिम’को उद्घाटन गर्दै बडालले पीडितले राहत र क्षतिपूर्ति नपाउँदै सरकारी बिगो भराउने काम पहिला गर्दा नागरिकले न्याय नपाएको बताए ।
‘अब हामीले नयाँ कानून बनाउनै पर्ने भयो, त्यसको लागि तयारी छ’ उनले भने, ‘पहिलो प्राथमिकता पीडितलाई क्षतिपूर्ति दिलाउने खालको कानून आउनुपर्छ ।’ त्यसपछि मात्र अन्तरिम क्षतिपूर्ति, दुदियावादी बिगो र सरकारी बिगो उठाउनुपर्ने उनले बताए ।
फौजदारी मुद्दामा अहिले पहिलो नम्बरमा सरकारी बिगो उठाउने, त्यसपछि दुदियाबादी बिगो उठाएपछि मात्र पीडितको माग सम्बोधन हुने गरेको छ । पहिलो शर्त नागरिकले न्याय पाएको हुनुपर्ने मान्यतालाई लागू गर्न यो पहल भएको उनले बताए ।
बडालले नेपालको कानूनी शिक्षामा सुधार गरी कानुन व्यवासयीको परीक्षा प्रणालीमा पनि हेरफेर गरिने बताएका छन् । उनले सबै कानून व्यवसायीमा अनुशासन कायम गराउने पनि बताए । बाल विवाहको मुद्दालाई जवरजस्ती करणी, शरीर बन्धक र अपहरण मुद्दा लगाएर २५ देखि ३० वर्षसम्म जेल राख्ने पद्दती अन्त्य गर्ने उनले बताए । बरु अन्य मुद्दामा एकडेढ बर्ष थुनामा पर्ने अभियुक्तलाई जिपिएस पद्दतीमा जोडेर घरमै बस्न पाउने व्यवस्था गर्न सके राज्यको श्रोत बचाउन सकिने, कारागारको चाप घट्ने लगायतको फाइदा हुने पनि बताए ।
तालिममा २१ वटा सेसन संचालन हुनेछन् । पहिलो दिनको तालिममा महान्यायाधिवक्ता बडालले आचारसंहिताबारे जानकारी गराए । सहन्यायाधिवक्ता सूर्यराज दाहालले श्वेतग्रिवी अपराध, मनी लाउण्डरिङ लगायतका नयाँ प्रवृत्तिका अपराध र कानूनी उपचारबारे जानकारी दिए । तालिममा बागलुङ, पर्वत र म्याग्दीका गरी ४० जना कानून व्यवसायी सहभागि रहेको परिषदका गण्डकी प्रदेश पार्सद दयाराम गौतमले जानकारी दिए ।
परिषदका गण्डकी प्रदेश पार्सद दयाराम गौतमको अध्यक्षता, उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्काको स्वागत र सचिव उमाशंकर सापकोटाको संचालनमा सम्पन्न उद्घाटन कार्यक्रममा उच्च अदालत बागलुङका मुख्य न्यायाधिस नातीबाबु लामिछाने, काउन्सीलका पूर्व पार्सद मुकुन्द शर्मा, वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले शुभकामना मन्तव्य राखेका थिए । तालिम २१ गतेसम्म संचालन हुने छ ।





