पोखरा/लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीको वर्ष २०२५/०२६ को कार्यसमितिले पहिलो दिन मंगलबारबाट विविध सहयोगको कार्यक्रम गरी सुरुवात गरेको छ । पोखरा २९ मदरीकुना लेखनाथमा रहेको नर्मदेश्वर मोक्ष सन्यास आश्रममा खाद्यान्न वितरण, वृक्षारोपण र बिरुवा गोडमेल कार्यक्रम गरेको हो ।
कार्यक्रममा डिष्ट्रिक चिफ लायन खेमराज बरालले १०८ ऋषिमानन्द गिरी खाद्यान्न दिएर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै बरालले माउण्टेन सिटीले अघिल्ला वर्षहरुमा गरेको कार्यक्रम उत्कृष्ट रहेको र पुरस्कृत समेत भएको प्रशंसा गरे ।
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीका वर्ष २०२५÷०२६ का अध्यक्ष लायन विष्णुप्रसाद अधिकारीले हरेक वर्षमा क्लबले उत्कृष्ट रुपमा सेवाको भावले काम गर्दै आएको र यो वर्ष पनि डिष्ट्रिकमा पहिलो हुनेगरी काम गर्ने जानकारी गराएका थिए ।
त्यसैगरी वृक्षारोपणको शुरुवात गर्दै संस्थापक अध्यक्ष एवम् इन्टरनेशनल एड्भाइजर लायन पिएमजेएफ डोलराज पोखरेलले अघिल्ला वर्षहरुमा पनि फलफूलका बिरुवाहरु निरन्तर रोपिए पनि संरक्षणको अभाव भएको बताएका थिए । ‘आवश्यक बिरुवाहरु हामी उपलब्ध गराउँछौं, संरक्षण स्थानीय र मन्दिर व्यवस्थापनले गर्नुपर्छ’ उनले भने ।
वृक्षारोपण कार्यक्रम संयोजक फस्ट भिपी पदम श्रेष्ठबाट १४ वटा ड्रागन फ्रुटको विरुवा सहयोग गरी रोपिएको थियो । संयोजक श्रेष्ठले ९ महिनामा नै उत्पादन दिने उच्च नश्लका बिरुवाहरु रोपिएको हुँदा उचित हेरचाह गर्न व्यवस्थापन समितिलाई सुझाव दिंदै आवश्यक परामर्श र संरक्षणको लागि क्लबले सहयोग गर्ने जानकारी गराएका थिए ।
आश्रमका सचिव ई. माधव भण्डारी, १०८ ऋषिमानन्द गिरी, डा. स्वामी विश्वानन्दले धन्यवाद व्यक्त गरेका थिए भने पूर्व अध्यक्ष एवम् जोन चियरप्रर्सन नरेश सुवेदी, पूर्व अध्यक्ष मोहदत्त भुषाल, पूर्व अध्यक्ष शक्ति बराल, थर्ड. भिपी कल्याण तिमिल्सिनाले आफ्नो धारणा राखेका थिए । क्लवका सचिव शिवप्रसाद रिमालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो भने सल्लाहकार प्रेमबहादुर थापाले स्वागत गरेका थिए ।





