
पोखरा / नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएसँगै अर्घाखाँचीमा दुई युवतीले बिहे गरेका छन् । नयाँ कुरा त विवाहपछिको जोडीले ‘समलिंगी विवाह वडा कार्यालयमा नै दर्ता’ गराएका छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमाया (नाम परिवर्तन) ले गत जेठ १८ गते विवाह गरेका थिए । अर्घाखाँचीको एक वडा कार्यालयले ती समलिंगी जोडीको विवाह दर्ता गरेको छ ।
२३ वर्षीया फूलमाया र २० वर्षीया निरमाया आवश्यक कागजातसहित बिहे दर्ताका लागि वडा कार्यालय आएपछि विवाह दर्ता गरिएको वडासचिवले जानकारी दिए । ‘सुरूमा अन्यौलताजस्तै भयो । सम्बन्धित ठाउँमा सोधपुछपछि विवाह दर्ताको प्रमाणपत्र दियौं’, ती सचिवले भने ।
विवाह दर्तामा अर्घाखाँचीकी फूलमायालाई ‘दुलहा’ र कपिलवस्तुकी निरमायालाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।





