बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हिउँ पग्लियो, फेवातालको पानी घट्यो

हिउँ पग्लियो, फेवातालको पानी घट्यो

पछिल्लो ३५ वर्ष यता हेर्ने हो भने मनाङको तापक्रप ३५ वर्षमा ३ डिग्रीले बढेको एक तथ्यांकले देखाउँछ । जलवायु संकटकै कारण १० वर्षमा गण्डकीमा बाढीबाट १५३ घटना भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • असार २० २०८२, शुक्रबार

पोखरा/जलवायु संकटका कारण गण्डकी प्रदेश निकै प्रभावित बनेको छ । पछिल्ला केही वर्षहरुमा हिमाली जिल्ला मनाङ र मुस्ताङमा समेत वर्षा हुन थालेपछि बाढीले वितण्डा मच्याएको छ । जलवायु संकटले हिमाली क्षेत्रमा बढी प्रभावित छन् । पछिल्लो ३५ वर्ष यता हेर्ने हो भने मनाङको तापक्रप ३५ वर्षमा ३ डिग्रीले बढेको एक तथ्यांकले देखाउँछ । जलवायु संकटकै कारण १० वर्षमा गण्डकीमा बाढीबाट १५३ घटना भएका छन् । जसमा ५८ जनाको मृत्यु, ५१ जना वेपत्ता र पाँच सयभन्दा बढी घरधुरीमा क्षति पुगेको छ । मेची महाकाली मिडिया सोसाइटीले पोखरामा आयोजना गरेको सञ्चारकर्मीहरुसँग जलवायु संवादमा बोल्दै वक्ताहरुले जलवायु परिवर्तनका कारण हिमालमा मात्रै नभइ फेवातालमासमेत ठूलो असर गरिरहेको बताएका छन् ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा वेदराज केसीका अनुसार जलवायु संकटले हिमाली क्षेत्रमा मात्रै नभइ फेवाताल पनि प्रभावित भएको हो । उनका अनुसार हरेक वर्ष फेवातालमा पानीको सतह घटिरहेको छ । ‘हिमालको हिउँ पग्लिरहेको छ, हिमताल विस्फोट हुने अवस्थामा पुगेका छन्, पोखराको फेवातालको पानीको सतह हरेक वर्ष घट्दै गइरहेको छ । जलवायु परिवर्तनकै कारण यस्तो भएको हो,’ उनले भने ‘यसले आर्थिक र कृषि क्षेत्रलाई प्रभाव पार्छ ।’ मानवीय गतिविधिका कारणले तापक्रममा वृद्धि भइरहेको उनी बताउँछन् । औद्योगिक क्षेत्रले उत्पादन गरेका ग्यासहरुले हरितगृहमा प्रभाव पार्दा जलवायु संकट निम्तिएको पनि उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालय गण्डकीका निमित्त सचिव पूर्णेश्वर सुवेदीले गण्डकी प्रदेशमा सबैभन्दा बढी उर्जा क्षेत्रबाट कार्वन उत्सर्जन हुनेको गरेको जानकारी दिए । प्रति वर्ष ५१ प्रतिशत (२१४२.४ गिगाग्राम प्रतिवर्ष) रहेको छ । यस्तै यातायात क्षेत्रबाट हरेक वर्ष ७०५.०६ गिगाग्राम, आवास क्षेत्रबाट ११८३.७५, कृषिबाट ३२.८८ र उद्योग क्षेत्रबात १०१.९ गिगाग्राम कार्वन उत्सर्जन हुने गरेको छ ।

मानविय गतिविधिका कारण कार्बनडाइअक्साइ, मिथेन,नाइट्रस अक्साइड, फ्लोरोइनेटेड, कार्बन मोनोक्साइडजस्ता ग्यासको उत्सर्जनले हरितगृहमा असर गरिरहेको छ । उनका अनुसार विभिन्न नीति तथा कानुन बनाएर काम गरिरहेको बताए ।

मेची महाकाली मिडिया सोसाइटीका अध्यक्ष माधक शर्माले अघिल्ला पुस्ताले स्वच्छ वातावरण हस्तान्तरण गरे पनि अहिलेको पुस्ताले नयाँ पुस्तालाई वातावरण हस्तान्तरण गर्न नसकेको बताए । उनले जलवायु संकटले ठूलो असर गरिरहँदा सामान्य कुरामा ध्यान नदिनु झन् ठूलो असर रहेको बताए । यस्तै पोखरामा सार्वजानिक यातायातहरुले कालो धुँवा फाल्दै आइरहेको र त्यस्ता किसिमका सामान्य कुरालाई नियन्त्रणमा लिन सकेमा मात्रै पनि कार्बन उत्सर्जनमा कम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->