बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार कोषलाई वृद्दि गरिएको छ । दशकअघि स्थापित यो पुरस्कारलाई कोषका संरक्षकको परिवारले ७ लाख रुपैयाँ पु¥याएका हुन् । ४ लाख रुपैयाँबाट स्थापित यो पुरस्कार कोषलाई संरक्षक बागलुङ नगरपालिका वडा नं. २ निवासी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्याम श्रेष्ठ र मनोविज्ञान श्रेष्ठ तथा नाती श्रीजय श्रेष्ठको परिवारले बढाएका हुन् ।
महासंघले उक्त कोषबाट हरेक वर्ष २ जना पत्रकारलाई पुरस्कार दिंदै आएको थियो । केही वर्षदेखि रोकिएको पुरस्कार महासंघको रजत वर्षको अवसरमा असार २५ गते वितरण गर्ने तयारी छ । उक्त कोषबाट बालबालिकाको क्षेत्रमा पनि सहयोग गर्ने महासंघका प्रतिनधि र श्रेष्ठ परिवारबाट श्रीजय श्रेष्ठबीच सहमति भएको छ ।
एक कार्यक्रममा श्रेष्ठ परिवारले अन्य विभिन्न सामाजिक क्षेत्रमा गरी ३० लाख रुपैयाँ हाराहारीको सहयोग हस्तान्तरण गरेका छन् । श्रेष्ठ परिवारले निर्माणाधिन मानवसेवा आश्रमको भवनका लागि ५ लाख ११ हजार ५ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । त्यस्तै ब्रम्हकुमारी इशवरीय विश्व विद्यालयलाई ३ लाख रुपैयाँ सहयोग गरे । यसअघि पनि ३ लाख सहयोग गरेको परिवारले ६ लाख सहयोग पु¥याएको हो ।
विद्यामन्दिर माबिमा त यो परिवारले झण्डै ४० लाख खर्चेर तीन कोठा, शौचालय र अन्य व्यवस्थापकीय काममा लगाएको तत्कालिन प्रधानाध्यापक जनन्नाथ आचार्यले बताए । भुकम्पले क्षतविक्षत भएको विद्यामन्दिर माविको पुननिर्माणमा उक्त सहयोगले शुरुवात भएपछि अहिलेको भवन बनेको हो । श्रेष्ठ परिवारले विद्यामन्दिरमा पढ्ने ६ जना बालबालिकालाई ५ हजार रुपैयाँको दरले छात्रवृत्ति र शैक्षिक सामाग्री पनि सहयोग गरेका थिए ।
यस्तै, श्रेष्ठ परिवारले नेपाल रेडक्रस सोसाइटी, नेत्रज्योती संघ, विद्यामन्दिर पुस्तकालयमा पनि सहयोग गरेका छन् । धौलागिरि अस्पतालमा पनि बिरामीको उपचार कोष नै बनाएका छन् । पञ्चकोटमा संचालिक कन्या छात्रावासका लागि खाद्यान्न लगायतको सामाग्री सहयोग गरेर योगदान गरेको आचार्यले बताए ।





