बागलुङ/नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा बिजयप्रसाद मिश्रले अदालतले मुद्दा घटाउने नाउँमा न्यायको मात्रा घटाउन नपाउने बताएका छन् । उनले हरेक नागरिकले न्याय पाएको अनुभूति गर्न पाउनुपर्नेमा उनले जोड दिए ।
फौजदारी न्यायमा त झन पीडितले न्याय पाउने वातावरण नभएमा अदालत प्रतिको विश्वास कम हुने उनको भनाइ थियो । नेपाल बार काउन्सिलको आयोजनामा बागलुङमा संचालन भएको एक साता लामो फौजदारी कानून बिषयक तालिमको समापनको अबसरमा आएका मिश्रले फौजदारी न्यायका सर्वमान्य सिद्दान्तको अधिकतम उपयोग गर्ने र नागरिकले न्याय पाएको अनुभूति दिलाउने काम कानून व्यवसायीको भएको बताए । उनले त्यसका लागि अनुसन्धानमा प्रहरीले, अभियोजनमा सरकारी वकिल र न्याय दिने काममा अदालते पर्याप्त गृहकार्य गर्नुपर्ने बताए ।
‘अहिले सर्वोच्च अदालत पुराना मुद्दा घटाउने काममा लागेको छ, त्यो राम्रो होला, तर छिटो काम सक्ने निहुँमा जनताले न्याय मरेको अनुभव गर्ने अबस्था आउन हुँदैन’ उनले भने, ‘ढीलो न्याय दिनु भनेको नदिनु सरह हो भन्ने पनि हेक्का उत्तिकै राख्नुपर्छ ।’ मिश्र नेपाल बार काउन्सिलको पनि उपाध्यक्ष छन् ।
उनले कानून व्यवसायीको पेशागत हित र दक्षताका लागि काउन्सिल र बार एसोसिएसनले सक्दो प्रयास गर्ने बताए । आवस्यकता अनुसारका तालिम दिने नयाँ विधि र प्रविधिबारे कानून व्यवसायीलाई दक्ष बनाउने लगायतको काम गर्ने उनले प्रतिवद्दता जनाए । उनले न्यायाधिस बन्ने आसमा कानून व्यवसायीलाई राजनीतिक दल, स्वार्थ समूह र न्याधिसको नजिक भएर जनताको मुद्दा नबिर्सन पनि सुझाव दिए । ‘आत्मसम्मानका साथ काम गरौं, न्यायाधिस हुनैपर्छ भन्ने छैन, वकिल भएरै समाजलाई दिशा निर्देश गर्ने हो’ उनले भने, ‘समाजलाई सही न्याय दिने काममा पनि वकिल खटिनै पर्छ ।’
कार्यक्रममा नेपाल बार एसोसिएनका उपाध्यक्ष भूपेन्द्र खनाल, बार काउन्सिलका केन्द्रीय पार्सद दयाराम गौतम लगायतले पनि कानून व्यवसायीको क्षमता बिकास भएमा जनताले न्याय पाउने बताए । त्यसका लागि दक्षता वृद्दिमै साथ दिने बताए ।
असार १६ गतेदेशि शु्रु भएको तालिममा साबिकको धौलागिरि क्षेत्रका ४० कानून व्यवसायी सहभागि लाई २१ वटा कक्षा संचालन भएका थिए । साइवर अपराध, लागू औषध ओसारपसार र भण्डारन, जवरजस्ती करणी सम्बन्धी कसुर र सजाए, भ्रष्टाचार सम्बन्धी अपराध, मानव वेचबिखन तथा ओसार पसार, आत्महत्या दुरुत्साहन, गैरकानूनी हत्या, पक्राउ पुर्जी र अभियोग पत्र, अर्पुण अपराध, अपराध र आपराधिक दायित्व, सम्पत्ति शुद्दिकरण संगठित अपराध र बैंकिङ्ख कसुर लगायतका बिषयमा प्रशिक्षण गरिएको थियो ।
महान्यायाधिवक्ता रमेश बडालले उद्घाटन गरेको कार्यक्रममा हरेक दिन बरिष्ठ अधिवक्ता, न्यायाधिस र बिज्ञहरुले प्रशिक्षण गरेका थिए । शुक्रवार मात्र सर्वोच्चका न्यायाधिस सारंगा सुवेदीले ८ बर्ष नाघेका मुद्दा सक्ने लक्ष्यमा रहेको बताएकी थिइन् । मुद्दा छिन्ने कुरा भन्दा जनताले न्याय पाउने मुद्दा ठूलो भएको कानून व्यवसायीले बताएका हुन् ।
यसै बीच डेमोक्रेटिक लयर्स एसोसिएसन बागलुङले नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा बिजय मिश्र, उपाध्यक्ष भुपेन्द्र खनाल लगायतलाई स्वागत समेत गरेको छ । डिएलएका अध्यक्ष सरिता केसीको अध्यक्षता, सचिव हरिप्रसाद गौतमको संचालनमा सम्पन्न कार्यक्रममा मिश्र, खानाल सहित डिएलएका केन्द्रीय पदाधिकारी, बरिष्ठ अधिवक्ताहरु ल्गायतले जिल्लाको अबस्था र कानून कार्यान्वयनको क्षेत्रबारे जानकारी गराएका थिए ।





