पोखरा/जिल्ला समन्वय समिति कास्कीको समन्वय र कोपिला नेपालको आयोजनामा लैङ्गिक हिंसा व्यवस्थापनमा कानूनी सचेतना तथा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका महिला जनप्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रमको उद्घाटन लैङ्गिक हिंसा व्यवस्थापन जिल्ला सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गरेका थिए । उनले कास्कीलाई हिंसारहित क्षेत्र बनाउने उद्देश्यले सबै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । लैङ्गिक हिंसासहित सबै प्रकारका हिंसा अन्त्य गर्न महिला जनप्रतिनिधिहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारको शून्य सहनशीलताको नीतिअनुसार महिलाविरुद्ध हुने कुनै पनि प्रकारको हिंसालाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याइने बताइन् । कास्की जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र राष्ट्रिय मानव अधिकार आयोग, पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले लैङ्गिक हिंसा व्यवस्थापनमा कानूनी सचेतना तथा सरोकारवालाहरूको भूमिका विषयमा सहजीकरण गरेका थिए ।
कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता मालले स्वागत मन्तव्य र जिल्ला समन्वय अधिकारी नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।





