बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अर्कैको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ

अर्कैको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ


  • ढाेरपाटन संवाददाता
  • असार २५ २०८२, बुधबार

पोखरा/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिने एक नक्कली परीक्षार्थी पोखरामा पक्राउ परेका छन् । अर्कै व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा बागलुङ नगरपालिका–५, अमलाचौर स्थायी घर भई हाल पर्वतको कुश्मा नगरपालिका–६ बस्दै आएका ३३ वर्षीय मोहम्मद रहिम पक्राउ परेका हुन् ।

रहिमले आवेदक कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाण पत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार असार २३ गते यातायात व्यवस्था कार्यालय, कास्कीमा सञ्चालित वर्ग ‘बी’ (कार, जिप, डेलिभरी भ्यान) को ट्रायलमा नक्कली परीक्षार्थी सहभागी भएको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले परीक्षा दिइरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका रहिमलाई कास्की जिल्ला अदालतमा पेश गरी लिखत सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->