आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देखिने गरी सुधारका काम गर्छौ : नगरप्रमुख श्रेष्ठ

देखिने गरी सुधारका काम गर्छौ : नगरप्रमुख श्रेष्ठ

नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आगामी साउनबाट बसपार्क संचालनमा ल्याउने, दशै सम्ममा कुकुर होस्टेल संचालन भएर बजारका सामुदायिक कुकुर राखिने, नगरले आफ्नै वन ऐन ल्याएर वन शाखा स्थापना गर्न खोजेको जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८२, मंगलबार

बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको सहजीकरणमा चालु आर्थिक बर्ष भरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार आयोजित सुनुवाई कार्यक्रममा सरोकारवालाले नगरपालिकाले गरेका कतिपय काम राम्रो भएपनि केही सुधार्नुपर्ने पक्षमा सुझाव समेत दिएका थिए । सुनुवाईमा सहभागिले बसपार्क उद्घाटन गरेर संचालन नभएको, कुकुर होस्टेल संचालनमा ढीलाई भएको, शिक्षाको गुणस्तरमा ध्यान नपुगेको बिषय उठेका थिए ।

सहभागिले बालमैत्री दिगो व्यवस्थापनको बारेमा काम नभएको, बजारमा घुमन्ते व्यपारीलाई नगरपालिकाले व्यवस्थापन गर्न नसकेको, धौलागिरि अस्पतालमा बालमैत्री वातावरण नभएका, माझी बस्तीमा खानेपानी नपुगेको, दब्ल्याङ पहिरो नियन्त्रण गर्न नसकेको, समस्या ग्रस्त सहकारीको खोजी गरेर समस्या समाधानमा ध्यान दिनुपर्ने तथा बागलुङमा दोहोरो नागरिकताको समस्या बढी भएकोले प्रशासनले ख्याल गर्नुपर्ने सुझाव राखेका थिए । साथै नगर खानेपानी कहिले सम्पन्न भएर आम नागरिकले शुद्द पानी पाउने भन्ने पनि जिज्ञाशाहरु उठेका थिए ।

नागरिकको सवालबारे नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आगामी साउनबाट बसपार्क संचालनमा ल्याउने, दशै सम्ममा कुकुर होस्टेल संचालन भएर बजारका सामुदायिक कुकुर राखिने, नगरले आफ्नै वन ऐन ल्याएर वन शाखा स्थापना गर्न खोजेपनि संघिय वन ऐन नआएकोले ढीला भएको जानकारी दिए ।

त्यस बाहेक नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिसकेको र दिगो व्यवस्थापनको काम थालिएको बताए । उनले विभिन्न स्थानमा खानेपानीको व्यवस्थापन गरिएको, ब्लुहिल पर्यटकीय स्थल बनाएर पर्यटक लैजाने योजना बारे पनि उनले जानकारीदिए । एक घर एक धारा अभियानलाई तीब्रता दिएको, बसपार्कको जग्गा फिर्ताको काम पनि अगाडि बढेको तथा क्लिन बागलुङ अभियानबाट नगरले सफाइको अधिकतम नमूना प्रस्तुत गर्न लागेको पनि बताए ।

उनले नगरपालिकाको बेरुजु कम गर्न सम्परिक्षण र अन्य काम भएको, बाहिर आएजस्तो बेरुजु र भ्रष्टाचार नभएको समेत स्पष्टीकरण दिए । कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले अटो लगायतको भाडा निर्धारणमा ध्यान दिने, योजनाको प्रभावकारी अनुगमन गरेर मात्र भुक्तानीको विधि अपनाइएको समेत जानकारी दिए । यो बर्ष गण्डकी प्रदेश स्तरीय न्यायिक समिति सम्मेलन गरेर काममा एकरुपता दिने अभियान गरिएको पनि उनले जानकारी गराए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले चालु बर्षको प्रगती प्रतिवेदन पेश गरेका थिए । साथै वर्तमान जनप्रतिनिधिहरु आएपछि ल्याएको श्वेतपत्र र त्यस यताको गतिविधि पनि जानकारी गराएका थिए । कार्यक्रममा आत्मनिर्भर बागलुङ अभियानमा १ हजार ६ सय ८८ घरपरिवारमा बाख्रापालन र आधारशिला तालिम संचालन भएको, अदालत चौपारी भकुण्डे रायडाँडा सडक निर्माण थालिएको, बोक्से सिगाना सडक कालोपत्रे भएको, ६ वटा अन्तराष्ट्रिय संस्थामा सहकार्य भएको, २ हजार घरमा एकघर एकधारा बनेको बताए । त्यती भएर पनि नगर अस्पताल भने अलपत्र परेको उनले बताए ।

कार्यक्रममा दोहोरो नागरिकताबारे आएका जिज्ञाशामा प्रजिअ कुमानसिंह गुरुङले जिल्लाकै समस्या भएको बताए । उनले कतिपय छानविन भैसकेको, केही छानविनमा रहेकोले बाध्यताले बनाएकाको हकमा सहज वातावरण बनाउने काम भएको पनि जानकारी दिए । कार्यक्रममा सहभागि जिल्ला समन्वय प्रमुख अमर थापाले अस्पतालमा कर्मचारी, चिकित्सक वा जो कसैले गर्ने अम¥र्यादित व्यवहार निमिठ्यान्न पारेर सेवाग्राहीको सेवामा लाग्न पहल गर्ने बताए । कर्मचारीबाट भएका केही घटनालाई छानविन नै गर्ने पनि बताए ।

सोही अबसरमा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जिसी सन्तोष, नेपाल त्रिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रका इन्जिनियर लागयतले पनि आएका जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रम नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता, पत्रकार सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो । उक्त अबसरमा पत्रकार नारायण रिजालले नागरिक सन्तुष्टी प्रतिवेदन, पत्रकार अर्जुन कार्कीले आचारसंहिता बाचन गरेका थिए भने पत्रकार प्रकाश बरालले टिप्पणी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->