आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘हिंसा पीडितलाई न्यायमा पहुँच बढाऔं’

‘हिंसा पीडितलाई न्यायमा पहुँच बढाऔं’

अल्पकालिन सेवा केन्द्र बागलुङ संचालक समितिकी सदस्य सचिव तथा महिला बालबालिका शाखा प्रमुख रचना आचार्यका अनुसार चालुबर्ष बागलुङमा ७६ जना हिंसा पीडित केन्द्रमार्फत न्यायको खोजीमा आएका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८२, बिहिबार

बागलुङ/पछिल्लो तीन बर्षमा घरेलु हिंसामा पीडितले न्याय खोज्न आउने दर घटेको छ । यो दर घट्नुमा घटना कम भएको बिषय सकारात्मक भएपनि उजुरीमै नआउने बिषय भने खतरा भएको सरोकारवालाले बताएका छन् ।

हिंसा प्रभावितका लागि संचालित अल्पकालिन महिला सेवा केन्द्र बागलुङको वार्षिक समीक्षाको क्रममा सरोकारवालाले उक्त धारणा राखेका हुन् । उनीहरुले घटना कम देखिनुलाई सकारात्मक मानिएपनि हिंसाका कतिपय घटना बाहिर नआएको पनि हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले हिंसालाई सुक्ष्मरुपमा अनुगमन गर्ने, पीडितको पक्षबाट हेर्ने हो भने कैयौ घटना अझै बाहिर आउन नसकेको प्रष्ट हुने उनले बताए । घरपरिवार, आफन्तबाटै हिंसा हुने भएकोले उजुरीमा नआउने कुराप्रति सचेत बन्दै कानूनको शासन र आम नागरिकनै जिम्मेवार बन्ने वातावरण बनाउनुपर्ने उनले बताए । साथै उनले हिंसा शक्तीशाली व्यक्तिबाटै हुने भएकोले शक्ती, पद र प्रतिष्ठामा पुगेकाहरुले नै सचेतना अपनाउनुपर्ने पनि सुझाव दिए ।

कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले लैंगिक हिंसा न्युनिकरणकालागि सशक्तीकरण, जनचेतनाका कार्यक्रम बढाउनुपर्ने बताए । त्यसकालागि नगरपालिकाले साथ दिएपनि आम नागरिक सचेत बन्नुपर्ने, अधिकारकर्मीहरुले सचेतनामा साथ दिनुपर्ने बताए । कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा लगायतले आफ्नो पालिकामा भएका घटनालाई न्युनिकरण गर्न भएका प्रयास र बागलुङ नगरले थालेको कामले सबै पालिकाको पीडितलाई राहत मिलेको बताएका थिए ।

अल्पकालिन सेवा केन्द्र बागलुङ संचालक समितिकी सदस्य सचिव तथा महिला बालबालिका शाखा प्रमुख रचना आचार्यका अनुसार चालुबर्ष बागलुङमा ७६ जना हिंसा पीडित केन्द्रमार्फत न्यायको खोजीमा आएका छन् । उक्त तथ्यांक अघिल्लो बर्षको तुलनामा घटेको हो । गत आर्थिक बर्ष ९२ रत्यस अघिल्लोमा ९९ घटना न्यायकालागि आएकोमा यो बर्ष कम देखिएको हो । ती मध्ये शारिरीक हिंसाका ९ जना, मानसिक हिंसाका १३ जना, आर्थिक हिंसाका ८ जना, यौनजन्य हिंसाका १० जना र अन्य ३३ जना छन् । उनीहरुको कानूनी उपचारमा जिल्ला कानूनी सहायता समितिले काम गर्दै आएको छ । समितिले निशुल्क रुपमा काम गरेको छ ।

यो अभियान संचालनमा संघिय सरकारले ५ लाख, प्रदेश सामाजिक बिकास मन्त्रालयले ६ लाख र नगरपालिकाले ५ लाख गरी १४ लाख लगानी गरेको छ । यहाँ आएका पीडितले ३० दिन सम्म आश्रय लिन पाउनेछन् । बिशेष परिस्थिति परेमा निर्णय गरेर १५ दिन थप गर्न सकिने प्रावधान पनि छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले यस्ता घटना कम गर्न कानूनी शासनको पालना हुनुपर्ने बताए । कानूनको शासन पालना नभएमा हुने मानवअधिकार हनन्ले यस्ता घटना निम्तेको पनि बताए । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, महिला बालबालिका शाखा प्रमुख रचना आचार्यको संचालन र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->