बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कास्कीको रुपामा प्रशासकीय भवन शिलान्यास, यातायात र डेन्टल सेवाको सुरुवात

कास्कीको रुपामा प्रशासकीय भवन शिलान्यास, यातायात र डेन्टल सेवाको सुरुवात


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८२, बिहिबार

पोखरा/  कास्कीको रुपा गाउँपालिकाले बिहीबार एकैदिन प्रशासकीय भवनको शिलान्यास, पालिकाभित्र स्थानीय यातायात सेवाको शुभारम्भ र रुपाकोट अस्पतालमा निःशुल्क डेन्टल सेवाको सुरुवात गर्दै विकास र सेवा प्रवाहमा फड्को मारेको छ ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रशासकीय भवनको शिलान्यास गरे । हालसम्म आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भोग्दै आएको गाउँपालिकाको उक्त भवन ७ करोड ८० लाख ५४ हजारको लागतमा निर्माण हुन लागेको हो । विद्युतिय ठेक्का प्रक्रियामार्फत आरआइपीएल एमसीपिएल जेभी काठमाण्डौंले एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । कार्यक्रममा अध्यक्ष ओझाले तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गरे निर्माण कम्पनीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरे । निर्माण कम्पनीका प्रतिनिधिले पनि समयमै गुणस्तरीय काम सम्पन्न गरी भवन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी, पालिकाको कार्यालयसम्म पुग्न स्थानीयलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाभित्रै सञ्चालन हुने गरी स्थानीय यातायात सेवा पनि सुरु गरिएको छ । सडक सञ्जाल भएर पनि सार्वजनिक यातायातको अभावमा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै स्थानीय व्यवसायीको मागअनुसार पालिकाले रुट, समय र भाडादर निर्धारण गरी सेवा सञ्चालनमा ल्याएको हो ।

साथै, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै रुपाकोट अस्पतालमा निःशुल्क डेन्टल सेवाको पनि शुभारम्भ गरिएको छ । गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको अध्यक्षता तथा अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त सेवा सुरु गरिएको हो । रुपा गाउँपालिका र नेलम्बो नेपालको संयुक्त लगानीमा महँगो मानिने दन्त सेवा स्थानीयलाई निःशुल्क उपलब्ध गराइएको हो । नेलम्बो नेपालका कार्यक्रम संयोजक भिमप्रसाद भण्डारीले पालिकावासीलाई निःशुल्क सेवा दिन पाउँदा खुसी व्यक्त गरे । अध्यक्ष ओझाले पालिकाले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा, सहुलियत दरमा एम्बुलेन्स तथा निःशुल्क दन्त सेवाजस्ता सुविधाको भरपुर लाभ लिन सम्पूर्ण पालिकावासीलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->