पोखरा– नवलपुर जिल्ला प्रशासन कार्यालयले धामी, झाँक्रीलाई १० दिनको तालिमका लागि शिविर चलाउन दिएको अनुमति आलोचनापछि फिर्ता गरेको छ ।
जिल्ला प्रशासनका अधिकृत ज्योतिराज अर्यालले असार ३० मा धामी, झाँक्री विद्या सिकाउने शिविरमा शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन भन्दै असार ३० मा पत्र पठाएका थिए । धामी, झाँक्री र तान्त्रिक विद्याअनुसार उपचार गर्नु, रुढिवादी परम्परामा आधारित धामी, झाँक्री उत्पादन गर्ने शिविर चलाउनु प्रचलित कानुनविरुद्ध रहेको भन्दै प्रशासनको आलोचना भएपछि प्रशासनले अर्को पत्र पठाएर त्यस्तो शिविर सञ्चालनमा रोक लगाएको हो । असार ३० गते नै नेपाल तान्त्रिक झाँक्री संघका नाममा अनुमति नदिइएको व्यहोराको अर्को पत्र अर्यालले नै पठाएका थिए ।
सदरमुकाम कावासोतीको एक होटलमा साउन ३ देखि १३ सम्म धामी, झाँक्री र तन्त्रविद्या सिकाउने र उपचार गर्ने भन्दै आयोजकले सामाजिक सञ्जालमा प्रचार गरेको थियो । तान्त्रिक धामी, झाँक्री संघका अध्यक्ष प्रकाश भुजेल हुन् ।






