काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको फैसलाविरुद्ध बिहीबार पुनरावेदन गर्ने निर्णय भएको सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए । उच्च सरकारी कार्यालय वीरगञ्जले मिसिल तयार गरेर पुनरावेदनको रायसहित गत साता नै प्रतिवेदन पठाइसकेको छ । उक्त प्रतिवेदन अध्ययनपश्चात् पुनरावेदनमा जाने निर्णय भएको हो । आइतबारसम्ममा पुनरावेदन दर्ता गर्ने तयारी रहेको दाहालले बताए । २०६४ चैत २७ गते संविधान सभा निर्वाचनको अघिल्लो दिन पूर्व सांसद आलमका काका शेख इद्रिसको गोठमा विस्फोट भएको र उक्त घटनाका घाइतेलाई ईंटाभट्टामा जिउँदै पोलेर हत्या गरेको अभियोग आलमसहितका प्रतिवादीमाथि थियो ।
घाइतेहरूको उपचार गर्नुको सट्टा प्रमाण नष्ट गर्न ट्याक्टरमा लोड गरी नजिकै रहेको राजा ईंटाभट्टामा बलिरहेको चिम्नीमा जिउँदै हालेर जलाइएको अभियोगमा २०८१ वैशाख १३ गते जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको थियो । उच्चले उक्त फैसला उल्टाउँदै आरोपी सबैलाई सफाइ दिएको हो । आलमलाई सफाइ दिएपछि न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । घटना नै नभएको भन्दै अन्यायपूर्ण फैसला गर्ने न्यायाधीशमाथि कारबाही गर्न मागसहित उक्त घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले उजुरी दिएका हुन् ।
सर्वोच्चका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा एक सदस्यीय छानबिन समिति बनाएर थारु र महर्जनमाथि अनुसन्धान भइरहेको छ । उनीहरूलाई परिषद्ले कारबाही गर्दै काजमा सर्वोच्च ल्याइसकिएको छ ।





