बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । त्यहाँका मगर समुदायले असारको काम सकेर असारे वा साउने संक्रान्ति पर्व धुमधामले मनाउने परापुर्वकालदेखिको परम्परालाई अझै जिवित राखेका छन् ।
ताराखोला गाउँपालिका वडा नं. ४ र ५ का मगरहरुले आफ्नो बस्ती बसाईको मुलथलो तारा गाउँमा प्रत्येक वर्ष ‘असारे पर्व’ मनाउँदै आएको ताराखोलाका झकबहादुर घर्ति बताउँछन् । ‘‘वर्षा यामको कृषिकर्म सकेर असारे पर्व मनाइन्छ, असारे पर्वमा मुखियाको घरमा जमरा राखेपछि अन्य घरमा पनि जमरा राख्ने प्रचलन छ’’ घर्तिले भने ।
‘असारे पर्व’ परापुर्वकालमा त्यहाँ बालबालिकाको मृत्यु हुने गरेकोले धामीझाँकीलाई देखाउँदा ढुंगामा देवताको बास भएको र त्यस ढुंगामा राँगाको बलि दिई पुजा गरेपछि बालबालिकाको मृत्यु हुन छोडेको जनविश्वसका आधारमा पुजा गर्ने प्रचलन रहेको संस्कृतिकर्मी देविलाल घर्तिले बताए । हावापानीले बाली नष्ट गरे नगर्ने विश्वासका साथ तारा गाउँमा असारमै ‘असारे पर्व’ मनाउने प्रचलन रहेको छ । ‘‘हिल र अर्गलमा भने साउने संक्रान्तिमा ‘असारे पर्व’ मनाउने परम्परा छ’’ संस्कृतिकर्मी घर्तिले भने ।
‘असारे पर्व’ मनाउन एकसाता अघिदेखि जमरा राख्ने गरिन्छ । त्यसपछि वर्षा यामको खेती किसानी सक्ने वा काम नसकिएमा कामै रोकेर ताराखोला ४ र ५ का मगरहरु भेला भएर अर्घासी मगरको मुल अधिनमा रही तारा गाउँमा बुढापाकाहरुले देवताको प्रतिक ढुंगामा राँगाको बली दिएर जमरा अक्षताले पुज्ने गर्छन् । तन्नेरीहरुले पिङ लगाउने गर्छन् । पिङ लगाईसकेपछि तरुनीहरुले खाजा तयार गर्छन् । बुढापाकाले पिङमा जमराअक्षेता चढाउँछन् । मुलीले पिङ खेलेपछि मात्र अन्यले पिङ खेल्छन् । तरुनीले ल्याएको खाजा खादै बुढापाका र तरुनी तन्देरीहरु स्थानीय झ्याउरे, असारे गीतमा नाचगान गरेर रमाइलो गर्छन् । बलि दिएको राँगाको मासु देवतालाई चढाउने र सामूहिक भोजन गरेपछि ‘असारे पर्व’ विधिवत रुपमा सम्पन्न हुने संस्कृतिकर्मी घर्तिको भनाई छ ।
‘असारे पर्व’ सम्पन्न भएपनि त्यसको सम्वद्र्वन, विकास र संस्कृति संरक्षणसंगै खेलकूद र कला संस्कृतिको विकास गर्ने उदेश्यले तारागाउँको करिमेलामा असारे युवा क्लबको आयोजनामा खेलकूद र साँस्कृतिक कार्यक्रम शुरु हुन्छ । असार २४ गतेबाट शुरु भएको असारे मेला २९ गतेसम्म पुरुष तथा महिला भलिबल, धनुषवाण, छेलो, लोकनृत्य प्रतियोगिता आयोजना गरी सकिएको क्लबका उपाध्यक्ष नारायण घर्तीले बताए । तारागाउँमा असारे पर्व सकिए पनि हिलमा असार ३० गतेबाट सुरु भएको छ । अर्गलमा साउन १ गते साराको रुखमा पिङ हालेर नाचगान गरी असारे मनाउने प्रचलन छ ।





