बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन जाने, कोरला नाका र पोखरा विमानस्थल सञ्चालनमा पहल गर्न व्यवसायीको सुझाव

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन जाने, कोरला नाका र पोखरा विमानस्थल सञ्चालनमा पहल गर्न व्यवसायीको सुझाव


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८२, शनिबार
oplus_2

पोखरा/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा चीनको तिब्बत जाने भएका छन् । यही साउन ६ गते हुने मुख्यमन्त्री पाण्डेको यो भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक अवसर बनाउनुपर्नेमा पर्यटन व्यवसायीहरूले जोड दिएका छन् ।

मुख्यमन्त्रीको भ्रमणका क्रममा मुस्ताङको कोरला नाकालाई पूर्ण सञ्चालनमा ल्याउन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सीधा उडान सुरु गर्न विशेष पहल गर्न व्यवसायीले आग्रह गरेका छन् । अन्य नाकाहरु बाढीलगायत कारणले अवरुद्ध भइरहेको अवस्थामा पोखराबाट सबैभन्दा नजिकको चिनियाँ नाका कोरलालाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सके प्रदेशको आर्थिक र पर्यटकीय विकास हुने उनीहरुको भनाई छ ।
पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै विगतमा जस्तो सुरक्षा चुनौती नरहेको र पूर्वाधारमा पनि सुधार भइरहेकाले नाका बन्द गरिरहनुको औचित्य नभएको बताएको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरालाई ट्रान्जिट बनाएर मुक्तिनाथ, दामोदर कुण्ड हुँदै कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटन मार्ग सञ्चालनमा ल्याउन सके गण्डकी प्रदेशको पर्यटनमा कायापलट हुने विश्वास व्यक्त गरे ।

व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनमा देखिएको ढिलाइ चिर्न उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेको बताए । चीन सरकारले मानसरोवर नजिकैको अलीस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिरहेको सन्दर्भमा पोखराबाट त्यहाँ सीधा उडानका लागि पहल गर्न उनीहरूको सुझाव छ । व्यवसायीहरूले चीनका प्रमुख शहरहरूबाट पोखरामा सीधा हवाई सम्पर्क जोड्नुपर्नेमा पनि जोड दिएका छन् ।

विगतका भ्रमणहरूले ठोस उपलब्धि हासिल गर्न नसकेको भन्दै व्यवसायीहरूले यसपटकको भ्रमणलाई परिणाममुखी बनाउन आग्रह गरे । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले चीनले घोषणा गरेको ‘भिजिट नेपाल इयर २०२५ इन चाइना’ लाई सफल बनाउन पनि यो भ्रमण कोशेढुंगा साबित हुने बताए, तर यसका लागि चिनियाँ सहरहरूमा प्रभावकारी बजारीकरण गर्नुपर्नेमा उनको जोड थियो ।

व्यवसायीहरूको सुझाव र मागप्रति सकारात्मक मुख्यमन्त्री पाण्डेले आफ्नो भ्रमण मुख्य चारवटा एजेन्डामा केन्द्रित रहने जानकारी दिएका छन् । ‘केरुङ र तातोपानी नाकामा समस्या देखिएपछि चीनसँगको हाम्रो पहुँच नै खुम्चिएको छ,’ उनले भने, ‘त्यसैले कोरला नाका खोल्नु हाम्रो बाध्यता र आवश्यकता दुवै हो ।’ उनले आफ्नो भ्रमणमा कोरला नाका, पोखरा विमानस्थल सञ्चालन र दुई देशबीचको व्यापार सहजीकरणका विषयलाई विशेष प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे । व्यवसायीहरूले कोरला नाकामा नेपालतर्फ आवश्यक अध्यागमन, भन्सार लगायतका पूर्वाधार निर्माणका लागि चीन सरकारसँग सहयोग माग्न पनि सुझाव दिएका छन् ।
साउन ६ गतेदेखि १२ गतेसम्म हुने मुख्यमन्त्रीको भ्रमण टोलीले तिव्वतको ल्हासा र लिन्जीको भ्रमण गर्नेछ ।

भ्रमण टोलीमा मुख्यमन्त्री, उनकी श्रीमती, गण्डकी प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमाले प्रमुख सचेतक गोविन्द नेपाली, मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटा रहने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->