
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ७ जना विरूद्धको मुद्दाको सुनुवाइ गर्न समय अभाव भएको भन्दै उच्च अदालत पोखराले अर्को पेसी तोक्न आदेश दिएको छ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भए पनि समय अभावले सबै कानुन व्यवसायीले बहस गर्न भ्याएका थिएनन्। इजलासले अर्को पेसी तोक्नु भन्ने आदेश आएकाले अब आउँदो बिहीबार पेसी चढ्ने अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरूले जानकारी दिए।
उच्च अदालतमा ७३ नम्बरको निवेदनको पेसी बिहीबार तोक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार रवि लामिछानेसहित ७ जना प्रतिवादी र सरकारी वकिलले दिएको ७३ नम्बरको निवेदनको सुनुवाइ बिहीबार तोकिने पनेरूले जानकारी दिए।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका लामिछानेसहित प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उक्त आदेश बेरितको भएको भन्दै सरकारी वकिल उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर गएको थियो भने धरौटी नराखी साधारण तारेखमा छुट्न पाउनुपर्ने माग राख्दै लामिछानेसहित प्रतिवादीले पनि उच्च अदालतमा अपिल गरेका थिए।
सरकारी वकिल र प्रतिवादी दुबैका तर्फबाट पेस भएको अपिलमाथि बिहीबार उच्च अदालतमा सुनुवाइ भएको हो।
लामिछानेसहित ७ जना प्रतिवादीलाई थुनामा राख्नुपर्ने मागसहित उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता रूद्रप्रसाद पन्थी, उपन्यायाधीवक्ताहरू बुद्धिलाल श्रेष्ठ, तुलबहादुर खड्का, एकनारायण ढकाल, सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली लगायतले बहस गरेका थिए।
प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण कँडेल, प्रतिवादी मिना गुरूङको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा लगायतले बहस गर्दै प्रतिवादीलाई साधारण तारेखमा रिहा गर्न माग राखेका थिए।
प्रतिवादीका तर्फबाट कानून व्यवसायीको बहस नसकिएपछि मुद्दा अर्को पेसी तोक्ने आदेश भएको हो।
सहकारी ठगीका आरोपितहरू लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, आरती गुरूङ, मिना गुरूङ, रामबहादुर खनाल, लिला पछाई र विज्ञान राई यस मुद्दाका प्रतिवादी छन्।
आगामी बिहीबारको पेसीमा प्रतिवादीका कानून व्यवसायीले बहस सकेपछि सरकारी वकिल र सहकारी पीडितका कानून व्यवसायीले जबाफ दिनेछन्। त्यसपछि आदेश आउन सक्ने सम्भावना रहेको उच्च अदालत पोखराले जनाएको छ।





