पोखरा/पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा यही साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगिताको आन्तरिकबाहेकका अन्य तयारी लगभग पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।
मंगलबारसम्म सहभागी टिम दर्ताको समय तोकिएको र सो समयभित्र १६ वटा टिम दर्ता भएका छन् । महेश्वर खनाल भजन समूह तनहुँ, भद्रकाली खैंजडी भजन समूह धादिङ, हरिहर भजन कीर्तन समूह स्याङ्जा, सहित कास्कीका विभिन्न भजन टोली र विद्यालयका स–साना विद्यार्थी सहभागी भजन टोली पनि सहभागी हुने बताइएको छ ।
बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताको लागि प्रतिष्ठानले बुधबार गोलाप्रथाबाट टाइसिटसमेत सार्वजनिक गरेको छ । प्रतियोगितालाई व्यवस्थित गर्न गठित विभिन्न २३ वटा उपसमितिले तयारी पूरा गरेको र केही आन्तरिक काम मात्रै बाँकी रहेको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले बताए ।
प्रतियोगिताको व्यापक प्रचार प्रसार गरेको, विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थासँग समन्वय भएको र दर्शकको चापलाई मध्यनजर गरी व्यवस्थित मञ्च निर्माण र सजावट गरिएको सचिव पौडेलले जानकारी दिए । कार्यक्रममा यस क्षेत्रका आमा समुह, टोल विकास संस्था र विभिन्न जातिय तथा धार्मिक संस्था आ आफ्नो पहिचान झल्कने पोशाकमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख र प्रमाणपत्र, दोस्रो हुनेले नगद ७५ हजार र प्रमाणपत्र, तेस्रो हुनेले नगद ५० हजार र प्रमाणपत्र तथा सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र तथा सहभागी टिमलाई प्रोत्साहन स्वरुप जनही ५ हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताइन् । विगतका भन्दा यसपटकको कार्यक्रम थप व्यवस्थित र भव्य हुने उनको भनाइ छ ।
कार्यक्रम सफल बनाउन ४ वटै स्थानीय तहसँग समन्वय गरिएको उपाध्यक्ष दीपेन्द्र बानियाँले जानकारी दिए । निरन्तर रुपमा कृष्ण जन्माष्टमी पर्व विशेष रूपमा मनाइने भएकाले यस क्षेत्रलाई गोकुल धामका रुपमा विकास गरिनुपर्नेमा समेत जोड दिइएको छ । कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख खर्च लाग्ने बताइएको छ ।





