बागलुङ/नागरिक समाजका अंगहरु सक्रिय नबन्दा नागरिक आन्दोलन नै कमजोर भएको सरोकारवालाले बताएका छन् । उनीहरुले जनआन्दोलन लगायतका अभियानमा ती संस्थाले खेलेको भूमिका अहिले कमजोर बन्दै गएको बताए ।
डेमोक्रेटिक लयर्स एसोसिएसन बागलुङको १९ औं वार्षिक साधारणसभाका सहभागीले कानून व्यवसायी, पत्रकार, प्राध्यापक र शिक्षक लगायतका पेशागत क्षेत्रका अगुवाहरु अझै एकपटक साझा अभियानमा लाग्नुपर्ने बताए । वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले विधिको शासन र लोकतन्त्रको अभ्यासका लािग पनि पेशागत संस्थाहरु सक्रिय बन्नुपर्ने बताए । ‘जबसम्म पेशागत संस्था सक्रिय बन्दैनन्, राज्यका निकायले केही सुन्दैनन्’ उनले भने, ‘जनतालाई अन्याय पर्न नदिन पनि पेशागत संस्था एक बन्नुपर्छ ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु भूमिश्वर गौतम, कृष्ण प्रसाद शर्मा निउरे, काजीगाउँले श्रेष्ठ, हरिप्रसाद शर्मा र केवश पराजुली, डिएलएका फौजदारी विभाग प्रमुख निरन्जन लाल राजभण्डारी, उच्च अदालत बार एशोसिएसन बागलुङका पूर्व अध्यक्ष राजुप्रसाद गौतम, बारका उपाध्यक्ष हरिकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, म्याग्दी बारका अध्यक्ष सागर जिवी उपाध्याय, डिएलएका सल्लाहकार बद्रीप्रसाद शर्मा, लेखापढी व्यवसायी संघका अध्यक्ष कल्पना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले जतिबेला नागरिक समाजका अगुवाहरु सक्रिय बन्छन् त्यतिबेला नागरिकले न्याय पाउने तर नजोडिंदा अन्याय बढ्दै जाने, राज्यका निकायले नागरिकको अधिकार हनन् गर्दै जाने गरेको बताए । अझै पनि नागरिक अभियान उचाइमा लैजान नसके देशमा फेरी वितृष्ण र बिसंगती बढ्ने समेत बताएका थिए ।
डिएलए बागलुङका अध्यक्ष सरिता केसीको अध्यक्षता, सचिव रामराजा कंडेलको संचालन र उपाध्यक्ष हरिप्रसाद गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरिएको थियो । डिएलए बागलुङका सदस्य गणेश पौडेलले विद्यावारिधी गरेकोले कार्यक्रममा सम्मान गरिएको थियो भने नवआगन्तुक कानून व्यवसायी निपेश राजभण्डारीलाई स्वागत गरिएको थियो ।





