पोखरा /नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्री रहेको मोबाइलसहित पक्राउ गरेको हो । प्रहरीले पीडित र आरोपी दुवैको पहिचान गोप्य राखेको छ ।
नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसिएमइसी) बाट विद्युतीय माध्यमको प्रयोग गरी डिजिटल प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सामग्री राखिएकोबारे साइबर टिपलाइन रिपोर्टमार्फत नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा ब्यूरोले अनुसन्धान गर्दै जाँदा कास्कीका एक व्यक्तिले आफ्नै हाडनाताकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएको तथा अर्की एक बालिकालाई समेत बाल यौन दुर्व्यवहार गरी त्यसको समेत भिडियो आफ्नो डिजिटल प्लेटफर्ममा राखेको खुलेको थियो । त्यसपछि ब्यूरो र जिल्ला प्रहरी कार्यालय, कास्कीको संयुक्त टोलीले आरोपीलाई पोखराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिमाथि जबरजस्ती करणी, बालबालिका विरुद्धको कसुर र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतका तीनवटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।





