पोखरा/काठमाडौंमा शीतल निवास, सर्वोच्च अदालतदेखि सिंहदरबार र संसद भवनसम्म ध्वस्त पारिए । गण्डकी प्रदेशको राजधानी पोखरा पनि त्यस्तै विभत्स दृष्यको चपेटामा प¥यो । सोमबारदेखि सुरु भएको आन्दोलनको लहर मंगलबार मध्यरातसम्म पोखरामा पूर्णरुपमा विस्फोट हुँदा गण्डकी प्रदेशका सबै शासकीय संरचनाहरू आक्रमणको निशानामा परे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा, जिल्ला प्रशासन, महानगरपालिका, उच्च र जिल्ला अदालत, मालपोत, नापी प्रदेश प्रमुखको निवासलगायत प्राय सवै सरकारी कार्यालय जलाइयो, तोडफोड गरियो । कास्की कारागारबाट ७ सय भन्दा बढी कैदीबन्दी सहज रुपमा फरार हुन पुगे । एमाले, माओवादी केन्द्रका पार्टी कार्यालय बाँकी रहेनन् । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाको निवास र व्यापारिक केन्द्र (अटो शो रुम), रिजोर्ट ध्वस्त बनाइयो । ती संरचनामा आगजनी हुँदा २ जनाले ज्यानै गुमाए । विभिन्न दलका नेता, कार्यकर्ताको निजी सम्पत्तीमाथि पनि धावा बोलियो ।
जिल्ला प्रहरी कार्यालयलगायत नेपाल प्रहरीका विभिन्न युनिटमा आन्दोलनकारीले आक्रमण गरेपछि पोखरामा शान्ति सुरक्षाको अभाव खस्क्यो । । प्रहरीका हतियार र पोशाक खोसिए । सडक कार्यालयका डोजर लोडरसमेत कब्जामा लिइयो । सडकमा कुदाइयो । भाटभटेनी लुटिएन मात्र आगोसमेत लगाएर ध्वस्त पारियो ।

राती १० बजे नेपाली सेना परिचालन भए पनि त्यस अघि नै अधिकांश संरचना ध्वस्त भइसकेका थिए । सेना परिचालन भइसके पछि पनि केही संरचनाहरुमा आगजनी गरियो । केही युवा खुकुरीलगायत धारिलो हतियार प्रदर्शन गर्दै सडकमा ओहोरदोहोर गरिरहे । स्थानीय त्रसित थिए । उनीहरु भन्दै थिए, ‘को आन्दोलनकारी, को लुटेरा छुट्टयाउनै गाह्रो भयो ।’
पोखराको पहिचान वा पोखराको प्रमुख आम्दानीको स्रोत पर्यटन हो । जेन जीको आन्दोलनले पोखरामात्र होइन नेपालभरीकै पर्यटनमा ठूलो असर पु¥याएको छ । पर्यटन उद्योग ध्वस्त हुँदा अर्थतन्त्र लामो समयसम्म पुनः उठ्न नसक्ने निश्चित छ । प्रादेशिक संरचना जलेसंगै अव के हुने भन्ने अन्यौल छाएको छ । झन्डै १० घन्टा राज्यविहीन जस्तै रह्यो । प्राय शान्त नै रहने पोखराले आजसम्म नभोगेको नदेखेको घटना देख्यो र स्तब्ध पनि बन्यो ।
सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएका युवाले भ्रष्टाचार र अव्यवस्थाबारे प्रश्न पनि उठाएका थिए । त्यसको वेवास्ता गर्दै सोमबार सरकारले दमन गर्दा एकै दिन १९ जनाको मृत्यु हुन पुग्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएनन् । सायद चैत १५ को राजावादीको जस्तो आन्दोलन तुहिने विश्वासमा थिए उनी । यसैले दम्भ र अहंकारका साथ बसे ।
मंगलबार बिहानैबाट प्रायः देशका सबै स्थानमा अवस्था नियन्त्रणबाहिर जान पुग्यो । पोखरा मात्र होइन, काठमाडौंलगायत देशभरी नै विध्वंस मच्चियो । सडक र सुरक्षा निकायलगायत सरकारी संरचना आन्दोलनकारीको नियन्त्रणमा पुगे । सुरक्षाकर्मीले थेग्न नसकेपछि आन्दोलनकारीलाई छाडिदिएपछि स्थिति भयावह हुनपुग्यो । राजधानीमा जस्तो पोखरामा पनि आगो निभाउन दमकल भएन, बिरामी बोक्ने एम्बुलेन्स पनि पाइएन । आन्दोलनकारीले कहाँ, कति क्षति पु¥याए भन्ने एकीकृत सूचना अहिलेसम्म प्राप्त हुन सकेको छैन । यसअघिका कुनै पनि आन्दोलनको समयमा यस्तो अवस्था देखिएको थिएन । स्थितिलाई नियन्त्रणमा लिन टोलटोलमा सुरक्षा समितिहरु बनेका थिए । त्यसले यो अवस्था हुन रोकेको थियो । तर अहिले आफ्नो सुरक्षाका लागि कोही पनि संगठित हुन सकेनन् । त्यसैले पनि क्षतिको मात्रा ठूलो हुन पुग्यो ।
स्थानीयले रोक्दा नसकेपछि ट्राफिक कार्यालयबाट चोरियो मोडिफाइ बाइक
मंगलबार जिल्ला प्रहरी कार्यालयमाथि आक्रमण भएपछि जिल्ला ट्राफिक प्र्रहरी कार्यालय कास्कीमा समेत आक्रमण हुने स्थिति देखियो । तर, ट्राफिक प्रहरी कार्यालय नजिक रहेका स्थानीयले कार्यालय जोगाउनका लागि राती गेटबाहिर नै सुते । रातको करिब १० बजेपछि एक हुल ट्राफिक प्रहरी कार्यालयमा पुग्यो । स्थानीयले उनीहरुलाई रोक्ने भरपुर प्रयास गरे । हातमा हतियार लिएर आएका उनीहरुले त्यो उत्तेजक भीडलाई थाम्न सकेनन् ।
‘हामीले कार्यालय जोगाउनका लागि गेटबाहिर बसेका थियौं । हामीले रोक्ने धेरै प्रयास पनि ग¥यौ । तर उनीहरुको हातमा हतियार थियो डराएर छाड्यौ’ स्थानीय एक व्यक्तिले भने (सुरक्षाका कारण नाम गोप्य राखिएको) । ट्राफिक प्रहरी कार्यालय पुगेको त्यो भीडले पहिला मादक पदार्थ सेवनको क्रममा नियन्त्रण लिएपछि दिइने कक्षा जलाएका थिए । त्यसपछि कार्यालय जलाएर त्यहाँ भएका मोटरसाइकल चोरी गरेका थिए । ‘रातभर मोटरसाइकल ओसारेका छन् । विहानसम्म पनि मोटरसाइकल लगेपछि हामीले नै आर्मीलाई फोन ग¥यौ’ स्थानीयले भने (सुरक्षाका कारण नाम गोप्य राखिएको) ।





