पोखरा/देशमा अत्यासलाग्दो अराजकता र रिक्तता उत्पन्न भएको छ । जेनजीको भद्र आन्दोलन र बर्बर दमनपछि मोडिएको बाटो अध्याँरो सुरुङतर्फ जाने त हैन भन्ने आशंका गाढा बनेको छ । नेपाली सेनाले शान्ति–सुरक्षाको जिम्मेवारी लिएको छ । निः सन्देह त्यो सेनाको दायित्व हो । नेपाली सेनाले सशस्त्र र जनपद प्रहरीलाई साथ लिएर शान्ति कायम गराउने प्रयत्न गरिरहेको छ । जनजीवन सामान्य बनाउन सेनाले प्रशासन संयन्त्र र नागरिक समाजसँग पनि हातेमालो गर्नैपर्छ । विषम परिस्थितिमा सवै पक्षको आवाजको संवोधन हुने गरी निकास निकालिनु पर्छ । यसो गरिरहँदा विधिको पनि हेक्का राख्नै पर्छ ।हो,एउटा बेथितिविरुद्ध एउटा आन्दोलन भएको छ तर,व्यवस्था नै बदलिएको छैन । नेपाल संविधानविहीनताको अवस्थामा पुगेको छैन । नागरिक समाजको असन्तुष्टिपछि नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले यही संविधानभित्र रहेर अहिलेको समस्याको निकास खोज्ने अधिकतम् प्रयत्न गरेको बताएका छन् । उनी कहाँ र कस्तो अवस्था छन् ? भन्ने प्रश्नको उत्तर खोजिएको अवस्था राष्ट्रपतिबाट भएको यो आह्वानले त्राण भरेको छ । परामाधिपतिको सक्रियतासँगै परिस्थितिको राजनीतिक निकास दिने कार्यमा सेनापतिको भूमिका शान्ति–सुव्यवस्था कायम गराउनेतर्फ केन्द्रीत हुनेछ भन्ने आशा पलाएको छ ।
देशलाई लामो समय अनिर्णयको बन्दी बनाउन मिल्दैन । संक्रमणकालीन परिस्थिति सक्दो छिटो अन्त्य गरिनुपर्छ । संवैधानिक रिक्तता लम्बिनु भनेको अराजकता र अस्थिरता मौलाउनु हो । आन्दोलनमा घुसपैठ भएको जेनजी नेतृत्वले नै स्वीकारेको छ । राष्ट्रपति भवन, संसद र सिंहदरबार,सर्वोच्च अदालतजस्ता सम्पदामाथि आगो झोस्ने हात कलिला जेनजीको हुनै सक्दैन । व्यवस्था विरोधी तत्वको घुसपैठकै कारण देशैभरका सरकारी र निजी संरचनामा आगजनी, लुटपाट र तोडफोड भएको हो । आन्दोलनको क्रममा भएको भौतिक क्षतिको लेखाजोखा भएको छैन । तर, सर्सती हेर्दा माओवादी सशस्त्र द्वन्द्वको क्रममा भन्दा बढी क्षति भएको आँकलन गरिएको छ । त्यो क्षतिको मूल्य आउँदा दिनमा गरौँला तर अहिलेलाई चाहिँ सक्दो छिटो उथलपुथलपछिको सन्नाटा चिर्ने प्रयत्न गरौँ । देशको कार्यकारी प्रधानमन्त्री को बन्ने विषयमा जेनजी पुस्ता नै विभाजित देखिएको छ । हिजो अस्तित्वमा रहेका र आन्दोलनको बाछिटाबाट जोगिन मौन बसेका राजनीतिक दलहरुले पनि आफ्ना माग अगाडि सार्दै प्रदर्शन सुरु गरेका छन् । राजावादीदेखि धर्मको नाममा रोटी सेक्नेहरुले पनि शिर उठाएको यो आँधीअघिको शून्यतालाई सुझबुझले पार लगाउनु पर्छ । र,यो कामको नेतृत्व देखिने गरी राष्ट्रपतिबाटै हुनुपर्छ ।





