बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रोदन र अत्यासलाग्दो मौनतामा छ पोखरामा

रोदन र अत्यासलाग्दो मौनतामा छ पोखरामा

अहिले स्थिति केही नियन्त्रणमा देखिएको जस्तो छ । तर, घामले चर्किएको शुक्रबार दिउँसोको पोखरा कुनै ठुलो मौनतामा देखिन्थ्यो । व्यापारिक सटरहरु बन्द, सडकसडकमा खाक बनेका सामानको रागले बजारलाई थप अत्यासलाग्दो बनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८२, शनिबार

पोखरा/भदौ २४ को राति डोजर लिएर पुगेका जेनजी प्रदर्शनकारीहरुले आगजनी गर्दा ध्वस्त बनेको जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहान केही स्थानीय र व्यवसायीहरु सरसफाइमा जुटे । उनीहरुले जिप्रकाको पुनर्निर्माण गरिदिने भनेका छन् ।

पोखराको गैह्रापाटनमा रहेको यो कास्की प्रहरी मुख्यालयमा आगजनी हुँदा स्वयं जनताको सुरक्षा गर्ने सुरक्षाकर्मी निरीह बने ।

शुक्रबार बिहानसम्म त्यहाँ आगो त नियन्त्रणमा छ । तर, प्रदर्शनकारीहरुले राति नौ बजेतिर खरानी बनाएका भौतिक संरचनाबाट भने राग आइरहेको छ । जसका कारण आँखा पोल्न थालिहाल्छ र आँसु झर्छ । यही रागमा एउटा व्यक्तिको शरीरको अंश पनि मिसिएको छ ।

आगजनी हेर्न भनेर गएका ४२ वर्षीय विजय लामा अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा जीवनमरणको दोसाँधमा छन । लामा त्यहाँ आगजनी हेर्न भनेर पुगेका थिए । गेटभित्रै छिरेका लामा एउटा ठूलो विस्फोट (सायद ग्यास सिलिण्डर) पछि बाहिरिए । उनी बाहिरिन नपाउँदै आगोको लप्काले उनको शरीर लपेटिसकेको थियो ।

गेटबाहिर आइपुग्दासम्म बोल्न सक्ने उनलाई त्यही आगलागी हेर्न गएका, ५÷६ वर्ष अगाडि भेटेका साथी दलबहादुर गुरुङले सुरुमा ठम्याएनन । तर, होकि जस्तो लागेर नाम सोध्दा लामाले हो भने ।

त्यही ५÷६ वर्ष अगाडिको भेटले लामा अहिले अस्पतालमा जलनको उपचार गराइरहेका छन् । तर, चिकित्सकले उनका साथीलाई बताए अनुसार लामाको अवस्था निकै गम्भीर छ । ७८ प्रतिशत शरीर जलिसकेको चिकित्सकले बताएको उनले जानकारी दिए ।

लामा चितवनका हुन् । तर, गुरुङलाई पनि उनको विस्तृत जानकारी छैन । ६ वर्ष अगाडि गुरुङले गाडी चलाउँदा उनकै गाडीमा लामाले केही समय काम गरेका थिए । आगलागीमा परेका लामाले मोबाइल पनि आगोभित्रै फालेका कारण गुरुङले उनको आफन्त भेटाउन संघर्ष गर्नुप¥यो । जिप्रकाको गेटबाट अस्पताल पुग्दासम्म लामाको आवाज गइसकेको थियो । उनी पोखराको दीप भन्ने ठाउँमा बस्छन् भन्ने सुनेका कारण बिहीबार बस्ने ठेगाना खोज्न पनि गुरुङ पुगेका थिए । तर, पत्तो पाउन सकेनन् ।बल्लतल्ल चितवनमा उनकी दिदीको नम्बर भेटाएर शुक्रबार बिहानै गुरुङले सम्पर्क गरेका थिए ।

मानवाधिकार तथा इन्सेक टोलीसँग गुरुङले भने, ‘कफ्र्यूका कारण उहाँ आउन सक्नुभएको छैन ।’ यही टोलीले अहिले उपचाररत लामाको आफन्तसँग कुराकानी गरेको छ ।

रोल्पामा जन्मेका विवश घर्तीमगर १८ वर्षका हुन् । बाबुआमा नभएका उनलाई एसओएसले हुर्काएको थियो । पोखराको एउटा कलेजमा दोश्रो सेमेस्टर पढ्ने विवश नितान्त जेनजी आन्दोलन भनेर हिँडेका किशोर हुन् । उनको अघिल्लो पुस्ताले भोगेको १० वर्ष जनआन्दोलनको केन्द्र थियो, रोल्पा ।त्यही क्रान्तिस्थलका विवश रानीपौवामा डेरामा साथीसँग बस्थे । भदौ २३ मा जसै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्व उनको पुस्ताले आन्दोलन गर्ने थाहा पाए, उनी पनि त्यहीँ पुगे ।

तर, आन्दोलनमा गर्न खोजिएको के थियो र भयो के ? यसबारेमा अहिले सबैले सोचिरहेका छन् । सरकारी भवनदेखि नेताका घर, व्यवसायीका कार्यालयहरु निशानामा परे । तोडफोड र आगजनी हुन्छ भन्नेमा उनी जानकार थिएनन् । तर, केही दलका घुसपैठियाहरुको जत्थाको शिकार बन्न पुगे, उनी ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि त्यो हिंस्रक जत्थाले सरकारी भवनमा आगजनी गर्दा उनलाई गोली लाग्यो । त्यो गोलीले उनको कलेजो क्षतविक्षत बनायो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा उनको उपचार भइरहेको छ । बाहिर उनका साथीहरुले उनलाई भेट्न आएका छन् ।

यही आन्दोलनमा यही ठाउँमा शिकार बनेका हुन, ३२ वर्षका रेशम शर्मा । शरीरको पछाडिको भागबाट छिरेको गोलीले उनको मुत्रथैली र आन्द्रा छियाछिया पारेको छ । उनी पनि आइसीयूमा नै उपचार गराइरहेका छन् ।यही अस्पतालमा लक्ष्मण नेपालीले आइसीयूमा उपचार गराइरहेका छन् । विश्व श्रेष्ठ र कृष्ण विकको हार्डजोर्नी विभागमा उपचार भइरहेको छ ।

१९ वर्षका अनिश सापकोटा एकल आमाका छोरा हुन् । पोखराकै एक कलेजमा ब्याचलर दोश्रो वर्षमा अध्ययनरत सापकोटालाई आमा अम्बिकाले तरकारी पसल गरेर हुर्काएकी हुन् । आफ्नो पुस्ताको आन्दोलनमा ऐक्यबद्धता जनाउन भनेर नै उनी घरबाट निस्केका थिए । तर, महानगरमा हिंश्रक जत्थाको आगजनीपछि प्रहरीले प्रतिक्रिया जनाउँदा उनको देबे्र आँखैनिर प्रहरीको अश्रुग्यासको सेलले लाग्यो ।

त्यहाँ ढलेका अनिश एकैपटक गण्डकी मेडिकल कलेजको बेडमा होसमा आए ।उनको अनुहारको देब्रे गालादेखि आँखामाथिसम्मको हड्डी चकनाचुर भएका छन् । चिकित्सकले रिकभर हुन कम्तीमा आठ हप्ता लाग्ने बताएका छन् ।मासबार क्षेत्रमा अख्तियारको भवन आगजनी हुँदा गोलीबाट घाइते भएका अर्का किशोर हुन्–स्याङजाको मिर्मीका निश्चल भट्टराई । भर्खरै १२ सकाएका भट्टराइको दाहिने खुट्टामा तीनवटा प्लेट राखेर मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
………..
एउटा प्रारम्भिक तथ्यांक अनुसार पोखरामा देखिएको दुई दिने हिंस्रक आन्दोलनमा मात्र सरकारी र राजनीतिक दलका कार्यालय सहित व्यवसाय, व्यावसायिक भवन, होटल, रिसोर्ट गरेर ८० वटा भवनमा आगजनी देखि ढुंगा प्रहार गरेर क्षति पुगेको छ ।

सरकारी सवारी साधनदेखि फर्निचरको लेखाजोखा छैन ।

प्रदेशसभाको ८ वर्षको इतिहास बोकेको भवनमा खरानी मात्र छ । प्रदर्शनकारीहरुले प्रदेशसभा परिसरका फूलदानी, गमलादेखि पुस्तकालयका पुस्तकसमेत लगेका छन् ।सामाजिक सञ्जालमा विरक्तलाग्दो देखिने हिंसात्मक गतिविधिको क्रममा उनीहरुले काम लाग्ने र सक्ने सामान सबै लगेका छन, नसक्नेलाई जलाएका छन, नजल्नेलाई तोडफोड गरेका छन् । व्यवसायी नाडाका अध्यक्ष धु्रवकुमार थापाको नयाँ बजारमा रहेको घर र गाडीको सोरुम उनीहरुले ध्वस्त बनाएका छन । उनकै दाई गण्डकीका मन्त्री विन्दुकुमार थापाको घरदेखि रिसोर्ट, व्यावसायिक भवन केही बाँकी छैन ।

सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिने भिडियोमा एक युवाले माइकिङ गर्दै भनेका छन,‘अब विन्दुकुमार थापाको बगैँचा रिसोर्ट जलाउन जाऊँ ।’उनको आह्वानमा अरु युवाहरु पनि पछि लागेका छन् ।उनीहरु त्यहाँ पुगेनन मात्र, थापाका छोरा सौगात प्रबन्ध निर्देशक रहेको अंशुभरा गु्रपको कार्यालय ध्वस्त बनेको छ । भवनमात्रै होइन, यही भवनमा रहेको स्पामा काम गर्ने २६ वर्षकी स्वस्थानी खड्का आगजनीबाट बाहिर निस्कन नसकेकै कारण ज्यान गुमाउन पुगिन् ।धु्रव थापाको नयाँ बजारमा रहेका घरमा पनि प्रदर्शनकारीको आगजनीबाट ३५ वर्षकी सञ्जु नगरकोटीले ज्यान गुमाइन् ।

आफ्नो घर जलिरहेको हृदयविदारक भिडियो शेयर गर्दै थापाले भावुक स्टाटस लेखेका छन ।

‘जलेको घरको आगोसँगै मेरा ती सबै उत्साह पनि जलेर खरानी भइरहेका छन । जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ । मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए,’उनले लेखेका छन् ।

उनले आफ्नो घरकी सहयोगी गुमाउनु सबैभन्दा पीडादायी रहेको बताएका छन् ।‘घटना हुनु केही क्षण अघिमात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विभत्स घटना व्यहोर्नु परेको छ । घरमा मान्छे छन भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेनजीले गरेका हुन् वा त्यहाँ भित्र अरु नै कोही थिए,समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ती क्रुर अपराधीहरु भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन् ।’

उनकै घरपछाडि मन्त्री विन्दुकुमार थापाको घर छ । पोखराका सफल व्यवसायी थापा गण्डकीमा लगातार दुइपटक सांसद बनेका व्यक्ति हुन् ।दुई कार्यकालमा प्रदेशसभा सदस्यको हैसियतमा पाउने सेवासुविधामा थपेर सामाजिक कार्यमा खर्च गरेको विवरण उनले हरेक वर्ष गर्छन् ।मन्त्री थापाको नेपाली कांग्रेसमा आबद्धताकै कारण आफूलाई जोडिएको धु्रवको भनाइ छ ।

‘दाई राजनीतिमा हुनुहुन्छ । उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो । के राजनीति गर्नु नै अपराध हो ? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रुपमा चिनिनुहुन्थ्यो,’ उनको प्रश्न छ,‘अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको संख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ । उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो, त्यो ।’

स्थिति यतिसम्म नाजुक बन्न पुग्यो कि, सुरक्षा निकायको कमाण्ड गर्ने जिल्ला प्रशासन कार्यालय नै निहीह बन्न पुग्यो । स्वयं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हातले लेखिएको विज्ञप्तिमार्फत् अवस्थाबारे जानकारी दिनुप¥यो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै विज्ञप्ति जारी गर्दै अधिकांश कार्यालय अझै सामान्य सेवामा फर्किन नसकेको जानकारी दिएको छ ।पोखरामा भएको हिंसात्मक गतिविधिको सिसिटिभी फुटेजका आधारमा दोषीलाई कारवाहीको आधारमा ल्याउने उनले जानकारी दिएकी छन् । ‘चोरी भएका सामान फिर्ता गर्न आह्वान गर्र्छौैँ । त्यस्तो नभए, हामीसँग सिसिटिभी फुटेज पनि छ, दोर्षीलाई कारवाहीको दायरामा ल्यान्इछ,’ उनले भनिन् ।शुक्रबार नै प्रहरीले हिंस्रक गतिविधिमा संलग्नहरुको विवरण मागेको छ ।

अहिले स्थिति केही नियन्त्रणमा देखिएको जस्तो छ । तर, घामले चर्किएको शुक्रबार दिउँसोको पोखरा कुनै ठुलो मौनतामा देखिन्थ्यो । व्यापारिक सटरहरु बन्द, सडकसडकमा खाक बनेका सामानको रागले बजारलाई थप अत्यासलाग्दो बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->