बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा महानगरपालिकाले बचेका संरचनाबाट असोज १ देखि सेवा सुरू गर्ने

पोखरा महानगरपालिकाले बचेका संरचनाबाट असोज १ देखि सेवा सुरू गर्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८२, शनिबार

पोखरा/ पोखरा महानगरपालिकाले जेन जीको प्रदर्शनका क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनीपछि क्षति नभएका संरचनाबाट असोज १ गतेदेखि सेवा पुनः सुरू गर्ने निर्णय गरेको छ । शनिबार बसेको महानगर कार्यपालिकाको भर्चुअल बैठकले तत्काल आवश्यक सेवाहरू हस्तलिखित रूपमा भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

महानगरका प्रवक्ता मोति तिम्सिनाका अनुसार उनका अनुसार असोज गतेदेखि महानगर मातहतका स्वास्थ्य संस्था र सुरक्षित रहेका वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा सुरू गरिनेछ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको कक्ष पनि तत्काल निर्माण गरिने निर्णय भएको उनले बताए ।

जनतालाई तात्कालिक रूपमा आवश्यक पर्ने सेवा नरोकिने र महानगर र वडा कार्यालयहरुमा भएको क्षति प्रहरीको मुचुल्कासहित संकलन गर्ने निर्णय समेत भएको उनले बताए । यससँगै महानगरभित्रका विद्यालयहरू असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ । अन्य सामान्य सेवाहरु पनि सकेसम्म असोज १ बाटै नै प्रवाह गर्नका लागि प्रयास भइरहेको उनको भनाइ थियो ।

भदौ २४ गते प्रदर्शनकारीले महानगर कार्यालय, वडा कार्यालय र सेवा केन्द्रमा आगजनी र तोडफोड गरेका थिए । ध्वस्त संरचना पुनर्निर्माणका लागि भने संघीय सरकारको निर्णय पर्खिनुपर्ने प्रवक्ता तिम्सिनाले बताए । भर्चुअल बैठकमा मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, अधिकांश कार्यपालिका सदस्य र महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । जेनजी आन्दोलनअघि कास्केली समाजको सम्मेलनमा भाग लिन दुबई पुगेका मेयर आचार्य हाल दिल्लीमा रहेका र त्यहीँबाट बैठक सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->