पोखरा / पोखरा–३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ । विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका साथ नवदुर्गा विशेष पूजा गर्न लागिएको बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिए ।
उनका अनुसार भोलि घटस्थापनादेखि मन्दिरका पूजारी वसन्तप्रसाद आचार्य सहितका तीन जना पण्डितहरूबाट मन्दिरमा नियमित दुर्गा शप्तशती पाठ हुनेछ । त्यस्तै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजा गरिने छ । मन्दिरका फूल प्रसादलाई विजयादशमीका दिनमा आसपासका क्षेत्रका स्थानीयका घरघरमा वितरण समेत गरिने कार्यक्रम रहेको उनले बताए । मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पोखराको भरतपोखरी र आसपासका दर्शनार्थीहरू मन्दिरमा आउने गरेका छन् ।
मन्दिरमा बलि पूजा भने नहुने जानकारी दिदै उनले ठूलोढुङ्गा र आसपासका क्षेत्रबाट विभिन्न भाकल सहित पूजाआजाका लागि दर्शनार्थी आउने गरेको बताए । सचिव लामिछानेका अनुुसार मन्दिरको सुरुमा स्थानीय स्व.लेखबहादुर गुुरुङबाट टिनको जस्ता प्रयोग गर्न र मन्दिरको गारो लगाउने क्रममा अतुलनीय सहयोग भएको थियो । उक्त मन्दिर निर्माण भइसकेपछि पोखरा ३३ निवासी दिननाथ आचार्यबाट पूजाआजा हुँदै आएकोमा पछि बसन्त आचार्यले हालसम्म नियमित पूजाआजा गर्दै आएका छन ।
दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको विश्वास लिइने यस मन्दिरको स्थापनाको भने अनौठो किंवदन्ती छ । किंवदन्तीअनुसार आजभन्दा करिब दुई सय वर्ष अघि लेकतिरबाट एक जना महिला माइत जान भनी यसै बाटो हँुदै आएकी र रात परेकाले हालको बालादेवी मन्दिरको नजिकै रहेको ओढारमा वास बसिछन् । निज महिला गर्भवती भएको र वास बस्ने क्रममा बाघले आक्रमण गरेकाले पेट चिरिएर गर्भबाट बालिका निस्किएको किंवदन्ती छ । निज महिलालाई बाघले खाएको र बालिकालाई नागले बेरेर संरक्षण दिएको भन्ने कथन छ । केही समय पश्चात बालिका अलप भएको तर निज बालिकाको दिव्यस्वरुप त्यही नै घुमिरहेको र सो स्थानमा प्रायः बालिका रोएको तथा कराएको आवाज आउन थालेछ ।
बालिका रोएको र कराएको आवाज निरन्तर सुनिन थालेपछि के रहेछ भनि लामा धामीलाई ल्याई हेराइएछ । खोजी गर्दा उक्त बालिकाको आत्मा धामीमार्फत सबै घटनाबारे सम्पूर्ण वृतान्त बताउनुको साथै म देवी हुँ र यसै स्थानमा मेरो मन्दिर बनाउनु भन्ने निर्देशन भएछ । पछि तिनै बालिकाको नाममा बालादेवी मन्दिर स्थापना भएको र त्यसयता निरन्तर पूजाआजा हुँदै आएको मान्यता छ । यसअघि विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण भएकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको हो ।
प्रत्येक वर्षको ज्येष्ठी पूर्णिमामा स्थानीयले विशेष पूजाआजा गर्ने गरेका छन् । पहिला पहिला ज्येठी पूर्णिमाका दिन पूजा गर्दा पाठीको बली दिने गरिए पनि स्थानीयवासीको समुहिक निर्णय अनुसार विगत तीन वर्ष यता बलिदिने प्रचलन हटिसकेको सचिव लामिछानेले जानकारी दिए । मन्दिरको संरक्षण र विकासको लागि बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति क्रियाशिल छ । मन्दिर निर्माणका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराएका थिए ।





