पोखरा/मोटरसाइकल मोडिफाइ (स्वरुप परिवर्तन) गरि आतंक मच्याउँदै हिड्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार ठूलो आवाज बनाउँदै मोटरसाइकल पड्काउँदै हिडिरहेका उनीहरु प्रहरीको चेकजाँचमा परेका थिए । सोही क्रममा जाँच गर्दा उनीहरु प्रहरीसँग विवाद समेत गरेका थिए ।
प्रहरीले ग१२ प ९८३२ नम्बरको मोटरसाइकलसहितपोखरा १० बुद्धचोकका २१ वर्षे सुवास कार्की, ग २४ प ४४६६ नम्बरको मोटरसाइकल र मादी गाउँपालिका १ घर भइ पोखरा ३ नदिपुर बस्दै आएका २४ वर्षका एल्बिन पुनलाई पक्राउ गरेको हो । यस्तै ग १४ प ८३९९ नम्बरको बाइकसहित पोखरा ६ का २६ वर्षका सन्जिव दुवाडी र ग ९ प ६०१३ नम्बरको बाइक सहित पोखरा ५ प्रस्याङका २९ वर्षका अमृत चापागाईलाई नियन्त्रणमा लिएको हो । उनीहरु विरुद्ध अभद्र व्यवहार मुद्धा दर्ता गरि कारवाहि गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
‘हिजो (आइतबार) मोडिफाइ गराई ठूलो आवाज निकाली ध्वनी प्रदुषण गर्दै समाजलाई आतंकित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने चार जनालाइ मोटरसाइकल सहित नियन्त्रणमा लिएका छौं । हामीले सवारी चेक जाँच गर्नेक्रममा प्रहरीसँग विवाद समेत गरेका छन्’ उनले भने, ‘कानूनी दायरामा ल्याएका छौं । अभद्र व्यवहार मुद्धा दर्ता गराई अघि बढ्छौं ।’
उनले बजार वा ग्रामिण क्षेत्रमा यसरी नै मोडिफाइ मोटरसाइकल लिएर आतंक मच्याउँदै हिडेको देखेमा तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरेका छन् । उनले सूचना दिने व्यक्तिको विवरण गोप्य राख्ने हुँदा निर्धक्क भएर खबर गर्न आग्रह गरेका छन् ।
जेन जी आन्दोलन मोटरसाइकल मोडिफाइ गरि हो–हल्ला गर्नेको संख्या बढ्दै गएको छ । चाडपर्व लक्षित गर्दै प्रहरीसमेत खरानी टक्टक्याएर नागरिकको सुरक्षामा खटिएको छ ।





