पोखरा/पोखरामा टिकटकमा अभियान चलाएर टिकटकर कृष्णा गुरुङको टोलीले तनहुँमा आर्थिक सहयोग गरेका छन् । टिकटकमा लाइभ बस्ने क्रममा तनहुँ शुक्लागण्डकी वडा नम्बर १२ जसपुरगाउँकी एक महिलाले आफ्नो परिवारमा आर्थिक अभाव भएको बताएपछि रकम जुटाएर सहयोग गरिएको हो ।
बिहिबार पोखराबाट तनहुँ जुसपुर पुगेर करिब एक लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गरेको समाजसेवी कृष्णा गुरुङले बताइन् । उनले आफूहरु टिकटकमा लाइभ बस्ने क्रममा कसैलाई समस्या परेमा सहयोग गर्दै आइरहेको र तनहुँमासमेत खाना पकाउने ग्यासको चल्होसहित रासन र चिसोमा ओढ्ने ओछ्याउने समेत अभाव भएको थाहा पाएपछि सोही अनुसार सहयोग गरेको उनले सुनाइन् । जसपुरकी फत्तकुमारी गुरुङको माइती परिवारमा आर्थिक समस्याले दैनिकी गुजारामा समेत समस्या आएको थियो । फत्तकुमारीले कृष्णाकै लाइभमा समस्यामा रहेको बताउँदै घरको अवस्था देखाएपछि दुई हप्ता अघि मात्रै आर्थिक सहयोग जुटाउने अभियान थालेको हो ।
‘गत वर्ष नै यहाँ समस्या भएको थाहा पाएको थिए तर, आउन पाइन, यसपटक टिकटक लाइभ बस्दा साथीहरु जम्मा हुनुभयो र बैनी (फत्तकुमारी) पनि आउनुभयो । हामीलाई विरामीको अवस्था सबै देखाउनुभयो अनि हामी सबैको मन खायो । सबै मिलेर अलिअलि सहयोग उठाएका हौं’ कृष्णाले भनिन्, ‘अहिले दुई हप्ता भयो होला । हामीले सहयोग रकम उठाउन लागेको । जाडो महिनापनि आयो ओढ्ने–ओछ्याउने पनि छैन भनेपनि हामीलाई धैर्य गर्ने मनै भएन र हामीले जति उठ्यो त्यति रकम लिएर आएका हौं ।’
कुनै संस्थागत नभइ व्यक्तिगत स्वस्फुर्त तरिकाले रकम सहयोग गरेको उनले सुनाइन् । दुःख पाउनेलाई सहयोग गर्न पाउँदा खुसी लागेको सुनाइन् । उनले सबैलाई थोरै भएपनि सहयोग गरिदिन आग्रह गरिन् । ‘हामीले रकम जम्मा गरेपछि जेजे चाहियो भन्नुभयो त्यही लिएर आएका छौं । उठेको रकममध्ये आवश्यक सामान किनेर बाँकी रहेको रकम पनि बुझाएका छौं ।’ उनले भनिन् । फत्तकुमारीको परिवारलाई ग्यासको चुल्हो, खाद्यन्न, सिरक, म्याट्रेस लगायत आवश्यक सामानसहित नगदसमेत सहयोग गरिएको हो ।
सहयोग लिदैँ फत्तकुमारीले टिकटकबाट सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद व्यक्त गरिन् । उनले आफ्नो परिवारमा तीन जना विरामी रहेको र घरको आर्थिक अवस्था निकै कमजोर रहेको सुनाइन् । फत्तकुमारीका बुबा अकलबहादुर गुरुङ उच्चरक्तचापका कारण अहिले थला परेका छन् । उनका दाजु धु्रबबहादुर गुरुङ पनि अचानक ढलेपछि अहिले हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् । यस्तै आमा खिमकुमारी गुरुङको समेत टाउको मा रगत जमेका कारण अवस्था ठीक छैन् ।
फत्तकुमारीले करिब १४ वर्षदेखी बुबा–आमासँगै दाजुको सेवा गर्दै आइरहेकी छन् । उनको परिवारमा अहिले उनका श्रीमान र छोरी समेत रहेका छन् । फत्तकुमारी श्रीमानसँगै माइतमै बस्दै आइरहेकी छन् ।
कृष्णासँगै झरना गुरुङ, माया गुरुङ र अंशु शेर्पासमेत पुगेका थिए । सामाजिक अभियन्ता समेत रहेका अंशु शेर्पाले टिकटकमा लाइभ बस्दै हरेक पटक नयाँ नयाँ समस्यामा परेका व्यक्तिहरुकोबारेमा छलफल गर्ने र रकम उठेमा आर्थिक सहयोग गर्ने गरेको सुनाए । उनले सामाजिक सञ्जाललाई खाली मनोरञ्जनका लागिमात्रै नभइ जीवनमा उपयोग गर्न सकेमा ठूलो उपलब्धि हुने बताए ।





