पोखरा/ सुनका गहना र रेडियो चोरी गरेको आरोप लागेका एक व्यक्ति ४७ वर्षपछि पक्राउ परेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने ७० वर्षीय लालबहादुर रानालाई सोमबार स्याङजा प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध साविक पेलाकोट गाउँपालिका वडा–२ हालको गल्याङ–७ का दिलबहादुर रानाले घरबाट सुनका गहना र रेडियो चोरीको भन्दै २०३५ वैशाख १५ मा प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी अनुसार २०४५ साल मंसिर १६ गते जिल्ला अदालतबाट रानामाथि नकबजनी चोरी मुद्दामा फैसला भएको थियो । उनलाई एक महिना १५ दिन कैद र ४ हजार ५ सय रूपैयाँ जरिवाना तोकिएको थियो। उनलाई फौसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।





