आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

मिस तामाङ पोखराको तयारी सुरु

मिस तामाङ पोखराको तयारी सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८२, सोमबार

पोखरा/दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुने गर्दछ ।

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु) ले महिला शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज र देश शिक्षित हुन्छ भन्ने अवधारणालाई मिस तामाङ प्रतियोगितासँग जोडेर व्यक्त गरे । नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले घर–समाज र देशलाई समृद्ध बनाउने भन्दै नारी क्षमता विकास, नेतृत्व निर्माण र आत्मविश्वास वृद्धि मिस तामाङ पोखराले पु¥याउँदै आएको योगदानमा जोड दिए ।

रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो पहिचान, प्रतिभा र सांस्कृतिक ज्ञान सहित अगाडि बढ्ने अवसर दिलाउने यो कार्यक्रम समुदायको सम्पत्ति हो भने । उनले यदि हामीले आफ्ना परम्परा, कला, भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण नगर्ने हो भने मौलिकता नै हराउने खतरा रहेकोमा जोड दिए ।

वक्ता र सहभागीहरूले मिस तामाङ प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक संरक्षण, नेतृत्व क्षमता विकास र समुदायको अन्तरपीढीगत सम्बन्ध मजबुत पार्न महत्वपूर्ण माध्यम भएको बताएका छन् । छलफलमा संयोजक रोशिला ब्लोन, तामाङ बौद्ध सेवा समितीका अध्यक्ष विष्णु तामाङ, तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कार्यक्रमका कोरियोग्राफर जिता लामा लगायतले मिस तामाङ पोखराको महत्व, यसको सांस्कृतिक योगदान र प्रतिभा उजागर गर्ने भूमिकामाथि आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

माघको ३ गते पोखरामा हुने मिस तामाङ पोखरा–२०२६ मा पोखराका अभिभावक र तामाङ समुदायलाई आफ्ना छोरी–चेलीलाई सहभागी गराई नयाँ कुरा सिक्ने, आत्मविश्वास बढाउने र क्षमता उजागर गर्ने उत्कृष्ट अवसर दिन बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->