आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

महाधिवेशन प्रतिनिधि बन्न कास्की एमालेमा होडबाजी

महाधिवेशन प्रतिनिधि बन्न कास्की एमालेमा होडबाजी

कास्कीबाट महाधिवेशन प्रतिनिधि २० जना मात्र सहभागी हुन पाउने भए पनि मंगलबार १२२ जनाले उम्मेदवारी दर्ता गरेको एमाले कास्कीका सचिव दर्शन लामाले बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८२, बुधबार

पोखरा/नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि कास्कीबाट महाधिवेशन प्रतिनिधि छनोट गर्न मंगलबार उम्मेदवारी दर्ता गरेको छ । कास्कीबाट महाधिवेशन प्रतिनिधि २० जना मात्र सहभागी हुन पाउने भए पनि मंगलबार १२२ जनाले उम्मेदवारी दर्ता गरेको एमाले कास्कीका सचिव दर्शन लामाले बताए ।

उनका अनुसार, प्रतिनिधि सभा अन्तर्गत कास्की–१ बाट ४ जना खुला, २ जना महिला समावेशी र १ जना युवा प्रतिनिधि गरी ७ जना छनोट हुनुपर्नेमा ३८ जनाले महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेका छन् ।

यस्तै, कास्की–२ बाट ६ जना महाधिवेशन प्रतिनिधिका लागि ३६ जना र कास्की–३ मा ७ जनाका लागि ४८ जनाले मनोनयन दर्ता गरेका छन् ।

एमाले कास्कीले महाधिवेशन प्रतिनिधि छनोट गर्न मंगलबार मनोनयन दर्ता र मंसिर १३ गते शनिबार निर्वाचन गर्ने जनाएको छ ।

एमाले कास्कीका सचिव लामाले सहमतिका लागि बुधबार प्रयास गर्ने र नभए निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी गरेको बताए ।

‘महाधिवेशन प्रतिनिधिका लागि अधिकांश युवाहरूले आकांक्षा देखाएका छन् । हामीले भोलि सहमतिको प्रयास गर्छौं,’ उनले भने, ‘सहमति नभए शनिबार निर्वाचन गर्ने गरी कार्यतालिका बनाएका छौं ।’

कास्कीमा रहेका तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो ।

यस्तै, उत्पीडित समुदायलाई छुट्टै क्लष्टर मानेर २ जना प्रतिनिधिका लागि बुधबार मनोनयन दर्ता हुनेछ ।

उत्पीडित क्लष्टरबाट पनि आवश्यकभन्दा बढी उम्मेदवारी परेमा शनिबार निर्वाचनमार्फत् महाधिवेशन प्रतिनिधि छनोट गरिने लामाले बताए ।

यसअघि एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा सर्वसम्मतिका नाममा उम्मेदवार हुन नदिएपछि यसपालि प्रतिनिधिका आकांक्षी बढेको एमाले नेता तथा कार्यकर्ताको आंकलन छ ।

दशौं महाधिवेशनमा कास्कीबाट प्रतिनिधि छनोट गर्दा सर्वसम्मतिका नाममा माथिबाटै प्रतिनिधिको घोषणा गरेको भन्दै केही नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।

एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले सहमतिका नाममा माथिबाट महाधिवेशन प्रतिनिधि घोषणा नहुने स्पष्ट पारेका छन् ।

उनले सहमतिका लागि आकांक्षीहरूलाई आग्रह गरिने र नमानेमा चुनावमार्फत् छनोट गर्ने गरी तयारी गरिएको बताए ।

‘महाधिवेशन प्रतिनिधिका लागि धेरै जना साथीहरूले आकांक्षा राख्नुभएको छ, हामीले १२ गतेसम्म सहमतिको प्रयास गछौं,’ उनले भने, ‘सहमति नभए चुनावबाट प्रतिनिधि छनोट हुन्छ, बलजफ्ती हुँदैन ।’

एमालेले ११ औं महाधिवेशनका लागि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा १२ सय पार्टी सदस्य भएको निर्वाचन क्षेत्रबाट २ जना खुला, १ जना महिला र १ जना युवा गरी ४ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने जनाएको छ ।

यस्तै, १२ सयभन्दा बढी पार्टी सदस्य रहेको क्षेत्रबाट प्रत्येक ८०० जना बराबर १ जना महाधिवेशन थपिने गरी कार्यविधि बनाएको छ ।

कास्कीमा एमालेको पार्टी सदस्य संख्या ११ हजार ७६८ जना रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

एमालेले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->