बागलुङ/सडकको ट्रयाक खुलेको २५ वर्ष भैसक्यो । सडक कालोपत्रे नभएर स्थानीय हैरान छन् । गत महिना बागलुङको काठेखोला गाउँपालिका वडा नंं ५ र ६ का बासिन्दाले यो पटक पनि सडक ठप्प पार्ने चेतावनीबाट पछि सरेका छन् । अर्थात सडक निर्माणको काम थाल्ने पहल भएपछि मंसिर १ गतेदेखि ठप्प पार्ने भनिएको सडक चल्न दिएका छन् ।
यो उनीहरुको कमजोरी होइन, बरु संयम देखाएको अबस्था हो । ठेकेदारपक्षले काम गर्ने सहमतिपछि बिहुँबासीले यो संयम देखाएको बताए । अब ठेकेदारले नियमित काम गर्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको प्रतिवद्दता पछि घोषित आन्दोलन रोकिएको छ । आन्दोलन नगरेको अर्को सडक खण्डका बासिन्दापनि जीर्ण सडकबाट आजित छन् । गलकोट तर्फको झण्डै ३० किमी सडक पनि जीर्ण छ ।
यो खण्ड बन्दै नबनेको कारणले जति स्थानीय आक्रोसित छन्, पटक पटक बनेर पनि जीर्ण भएको गलकोट खण्डमा पनि स्थानीय आक्रोसित बनेका हुन्् । उनीहरुले पनि पटक पटक राज्यको ध्यानाकर्षण गरेका छन् । लोकमार्गको गलकोट खण्ड पनि छिया छिया छ । दैनिक पश्चिम नेपालको रुकुम, जाजरकोट र डोल्पा सम्मका सवारी गुड्ने सडक जीर्ण भएपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।
२०६८ सालदेखि थालिएको आयोजनाको काम पटक पटक अलपत्र पर्दा यात्रीले सास्ती खेप्ने कुरा नौलो होइन । तर रात्री बसहरुको यात्रा जोखिमको सडकमा गरिरहेपनि राज्यका निकाय मौन बस्नु झन आश्चर्य भएको गलकोट नगरपालिका २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘हिउँदभर कुरा गरिरहन्छौं, बर्षात लागेपछि कताकती मर्मत गरिन्छ र छाडिन्छ ।’ यो सडक खण्ड नै साँघुरो र जोखिमको बनिसकेको उनले बताए ।
मध्यपहाडी लोकमार्गले केही खण्ड हस्तान्तरण गरेर सडकमा पुगेको छ । तर हस्तान्तरण नै नभएको खण्डले बढी सास्ती भएको स्थानीयको भनाइ छ । ठेकेदारले बर्षौदेखि सडक अलपत्र पार्दा मानिस मात्र नभइ पशु चौपायाले पनि घाँस नखाने समस्या भएको काठेखोला गाउँपालिका ६ का अध्यक्ष वृहस्पति कंडेलले बताए । ‘ठेकेदारले काम अलपत्र पारिदिंदा हाम्रा गाईभैसी पनि बिरामी परेका छन्, मानिसलाई फोक्सोको समस्या परेको छ’ कंडेलले भने, ‘बाटो त बनेन्, हाम्रा नागरिक र पशुधनको समस्याको क्षतिपुर्ति कसले दिने ?’ दैनिक बिद्यालय जाने बिद्यार्थी देखि बिरामी र जेष्ठ नागरिक धुलो र हिलोको बढी सास्तीमा परेको उनले बताए ।
सडक स्तरीय बनाउँदा यात्रीले मात्र नभइ स्थानीयले पनि सहज महसुस गर्ने बताए । स्थानीय अमर माबि, भीमसेन माबि, खोलातिर प्रावि, हिमालय आधारभूत बिद्यालय, लालीगुराँस बोर्डिङ सहित काठेखोला ५ र ६ का स्वास्थ्य चौकी समेत सडकको समस्याबाट ग्रसित छन् । बिद्यालयमा प्रार्थना समेत गराउन समेत समस्या पर्ने गरेको अमर माबिका प्रअ भिष्म कंडेलले गुनासो गरे । पश्चिम बागलुङका ५ पालिकाका जनप्रतिनिधिले जिल्ला समन्वय, बिकास निर्माणको समीक्षा र अन्य अत्यावस्यक बैठक भ्याउन पनि नसकेको गुनासो गर्छन् । मध्यपहाडी लोकमार्ग बागलुङभित्र १ सय ४२ किमी दुरी छ ।
बिहुँ घोडाबाँधे खण्डमा सूर्यं क्नस्ट्रक्सन कंपनीले ठेकका लिएको थियो । २०७२ माघ १० को ठेक्काको कामबाट ९ बर्षमा ५५ प्रतिशत प्रगती समेत देखाउन नसकेपछि कालोसूचीमा परेर रद्द भई गतबर्ष ‘रिजाल तामाङ भगवती जेभी’ले ठेक्का लिएको थियो । २०८१ असारमा सम्झौता गरी २०८३ असारमा सक्ने सम्झौता गरेको डेढ बर्षपछि मात्र काममा आएको छ । सोही सडकको अर्को खण्ड ठेक्का लिएको ‘सिद्दिसाई भारत जेभी’ले पनि काम न गरेपछि स्थानीय राजु गौतमले पेटी ठेक्का लिएकोमा भुक्तानीमा समस्या भएपछि काम अगाडि बढाउन सकेका छैनन् । उनले केही सडक कालोपत्रे गरेका थिए । भुक्तानी नपाएपछि काम छाडेर बसेका छन् ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका ईन्जिनियर ऋषि गौतमले ठेकेदारलाई बोलाएर काममा ल्याएको बताए । उनले अब नियमित काम गरेर सक्ने लक्ष्य राखिएको बताए । दुइ साताअघि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ सहित सुरक्षा प्रमुख काठेखोला पुगेर सडक निर्माणमा ठेकेदारलाई बाध्य पारेका थिए ।





