पोखरा/नेकपा एमालेले ११ औं महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोट गर्न १२ सय पार्टी सदस्य भएको निर्वाचन क्षेत्रबाट २ जना खुला, १ जना महिला र १ जना युवा गरी ४ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने मापदण्ड तय गरेको छ ।
यही मंसिर १८ गते तल्लो तहमा पठाइएको अन्तरपार्टी निर्देशन (अपानी) मा १२ सयभन्दा बढी पार्टी सदस्य रहेको क्षेत्रबाट प्रत्येक ८ सय जना बराबर १ जना प्रतिनिधि थपिने व्यवस्था छ । एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार अहिले कास्की एमालेमा ११ हजार ७ सय ६८ जना संगठित सदस्य छन् । संगठित सदस्य अनुसार क्षेत्रगत रुपले हेर्दा कास्की निर्वाचन क्षेत्र १ बाट ४ जना खुला, २ जना महिला समावेशी र १ जना युवा प्रतिनिधि गरी ७ जना,२ बाट ३ जना खुलासहित ६ जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट ४ जना खुलासहित ७ जनाले मात्र महाधिवेशन प्रतिनिधि बन्न पाउने छन् । उत्पीडित समूहलाई अर्को क्लष्टर तोकिएको र त्यहाँबाट २ जना प्रतिनिधि हुने व्यवस्था छ । पार्टीका केन्द्रीय सदस्य, अनुशासन आयोग र लेखा आयोगका सदस्यहरु महाधिवेशन आयोजक समितिमै रहेकाले स्वतः प्रतिनिधि हुनेछन् ।
भूगोलबाट थोरैमात्र प्रतिनिधि छानिने व्यवस्थाका कारण प्रतिनिधिका धेरै आकांक्षीहरु सुरुमै रोकिए । भूगोलबाट २० जनामात्रै चुनिने थाहा हुँदाहुँदै १ सय २२ जनाले चाहिँ प्रतिस्पर्धामा उत्रने तयारीका साथ उम्मेदवारी दर्ता गरे , क्षेत्र नम्बर १ बाट ३८, २ बाट ३७ र ३ बाट ४३ जना मैदानमा ओर्लँदा उत्पीडित क्लष्टरमा पनि ७ जना आंकाक्षी रहे । मंसिर १८ गतेको अपानीले प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी जिल्लाका पदाधिकारीलाई दिएको थियो । जिल्ला कमिटीले चुनाव गराउने निर्णय गरेको भए शनिबार उनीहरुबीच प्रतिस्पर्धा हुन्थ्यो । संगठित सदस्यले मताधिकार प्रयोग गर्थे र मनले खाएकालाई जिताउँथे । तर, त्यस्तो नहुने भएको छ । चाहिनेभन्दा बढी आकांक्षी हुँदा पनि एमाले नेतृत्वले ‘बाकस थाप्ने’ विधि तय नगरेर सहमतिमा प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ । एमाले कास्की सचिव लामाका अनुसार सहमतिमै प्रतिनिधि चयन गर्ने निर्णय अनुरुप जिल्ला कमिटीकै पदाधिकारीलाई क्षेत्रगत रुपले खटाउने निर्णय गरेको छ । अध्यक्ष बैनबहादुर क्षेत्री र सचिव दर्शन लामाले क्षेत्र नम्बर १ मा सहमति गराउने जिम्मेवारी पाएका छन् । उनीहरु स्वयं पनि प्रतिनिधिका आकांक्षी हुन् । केन्द्रीय नेतृत्वले नै चुनाव गराउन नचाहँदा र यहाँ प्रभाव जमाउने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी दुबै सहमतिकै पक्षमा उभिएपछि जिल्लाले सो निर्णय गरेको एमालेका एक नेताले बताए ।
‘कास्की नेतृत्वकै लागि चुनाव भएको हो । महानगर कमिटीमा पनि हाम्रा दुई नेता (पृथ्वीसुब्बा र खगराज) ले अघोषित प्रतिस्पर्धा गरेका हु्न् तर अहिले यी दुवै नेता एकै ठाउँमा छन् । दुवैले केन्द्रमा अध्यक्ष केपी ओली नै पुनः दोहोरिनुपर्ने बताएपछि यहाँ चुनाव हुने कुरै भएन,’ती नेताले भने,‘एमालेको अहिलेको अवस्था भनेको नेताको तानशाही प्रवृत्ति नै हो । चुनाव नहुँदा उहाँहरुले रुचाएका मान्छे नै प्रतिनिधि हुन्छन् । चुनाव भए उहाँहरुले भने अनुसार नै आँखा चिम्लेर मत हाल्छन् ।’
प्रतिनिधि छनोटमा पृथ्वीसुब्बा र खगराजबीच भागबण्डा चाहिँ अहिलेसम्म नभएको उनले सुनाए ।
‘कास्कीमा खगराज कमरेडकै बढी चल्छ,करिब ७० प्रतिशत उहाँले नै रुचाएका प्रतिनिधि बन्छन् होला । चुनाव नहुने भएपछि कार्यकर्ताले आफू कति लोकप्रिय वा पानीमा छु भन्ने परीक्षण गर्नै पाएनन्,’उनले भने,‘महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा प्रतिस्पर्धा हुँदा चाहिँ प्रतिनिधि आफ्नो पक्षमा पार्ने काम होला ।’





