पोखरा/ नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न गण्डकी प्रदेशका ४ जिल्लामा निर्वाचन भइरहेको छ। एमाले प्रदेश अध्यक्ष नवराज शर्माका अनुसार नवलपुर, तनहुँ, लमजुङ र गोरखामा महाधिवेशन प्रतिनिधि चयनका लागि आज निर्वाचन भइरहेको छ ।
गण्डकीका ११ मध्ये ५ जिल्लामा भने सहमतिका आधारमा प्रतिनिधि छनौटको काम सकिएको अध्यक्ष शर्माले बताए । मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी र बागलुङमा सहमतिका आधारमा प्रतिनिधि छनौटको काम सकिएको उनले जनाए । बाँकी कास्की र पर्वतमा प्रतिनिधि छनौटका लागि सहमतिको प्रयास भइरहेको शर्माको भनाई छ ।
गण्डकी प्रदेशबाट महाधिवेशनका लागि १३२ जना प्रतिनिधि सहभागी हुनेछन् । ११ जिल्लाबाट १२० जना, प्रदेश कमिटीबाट ५ जना र मजदुर फाँटबाट ७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
कास्कीबाट मात्र २२ जना प्रतिनिधि छनौट गर्न १२२ जनाले महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेका छन् । कास्कीमा यत्तिका धेरै महाधिवेशन प्रतिनिधिको आकांक्षी भए पनि सर्वसम्मत प्रतिनिधि चयन गर्न लागिएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले बताएका छन् । एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ सम्म काठमाडौंमा हुँदैछ ।





