बागलुङ/गलकोट नगरपालिका वडा नं. २ को नरेठाँटी बजारदेखि वडा नंं १ को कार्यालय दुदिलाभाटी जाने सडक कालोपत्रे तयारी भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा शुरु भइ आगामी पुसभित्रै सक्ने लक्ष्यले यो सडक कालोपत्रे तयारी भएको हो । त्यसका लागि आवस्यक सामाग्री जुटाएर ठेकेदार पक्षले काम थालिसकेको छ ।
सहर उन्मुख गलकोटलाई व्यवस्थित बनाउने, पूर्वाधारमा अब्बल र सहरी शासकीय क्षमता विकास गर्न यो सडकसहित गलकोटमा आधादर्जन योजना संचालनमा छन् । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको सहयोगमा ती आयोजना संचालित रहेकोमा अधिकांस पुरा हुने अवस्थामा पुगिसकेको गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।
नगरको विकासलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, नगरको आफ्नै शासकीय क्षमता बढाएर चुस्त बनाउने लक्ष्य समेत यो कार्यक्रममा छ । आयोजनाको साझेदारीमा नगरपालिकाले ती सबै काम गरिरहेको हो ।
यो सडकले स्थानीय दुवै वडाबासीले सहज यात्रा गर्न पाएको भण्डारीको भनाइ छ । ‘नगरपालिका जानका लागि यो सडक धेरै उपयोगी बनिरहेको छ’ उनले भने, ‘सडक सहज भएपछि सडक छेउमा कृषि फर्महरु पनि संचालनमा आएका छन् ।’ बजारीकरणका लागि सहज भएपछि किसानहरु खुसी भएको उनले बताए । झण्डै २ किमी लामो यो सडक खण्डमा पशुपालन, टनेलमार्फत कृषि फसल उत्पादन व्यवसाय संचालनमा छन् ।
त्यस बाहेक आयोजना कार्यालयकै साझेदारीमा कोतघर जाने सडक कालोपत्रे तयारी छ । सहरी शासकीय क्षमता विकासका लागि २ करोड लागतमा वडा नं. ३ को भवन निर्माण गरिएको छ । पूर्वाधार तर्फका धेरै काम सम्पन्न भएको र एकडेढ महिनामै सबै काम सकेर हस्तान्तरण गर्ने बागेश्वरी निर्माण कम्पनीका प्रतिनिधि सन्तोष तामाङले बताए । चालु वर्षको फागुनसम्म सबै पुर्वाधार सक्ने लक्ष्य उनले सुनाए ।
यो सडक कालोपत्रे बन्दा गलकोट हुँदै बरेङ जाने सडक पनि सहज बन्दैछ । यो सडकले नरेठाँटी पढ्न जाने विद्यार्थीलाई पनि सहज भएको छ । किसानहरु त बजार पाएकोमा उत्साही छन् । ‘हामीले सजिलै बजारमा तरकारी पठाउन पाउने भयौं’ स्थानीय लालबहादुर खत्रीले भने, ‘आवस्यकताको आधारमा काम गर्दा प्रतिफल राम्रो पाइन्छ ।’ गलकोटलाई सहरी क्षेत्रको रुपमा विकास गर्दै व्यवस्थित सडक, ढल निकास, शासकीय क्षमता विकास गर्ने लक्ष्यले यो काम शुरु भएको आयोजनाका प्रमुख कृष्णकुमार मर्हजनले बताए ।
‘यो एउटा नमूना आयोजना हो, यसको सफलतापछि अन्य काममा पनि साथ दिन्छौं’ महर्जनले भने, ‘विज्ञ कार्यालय भएकोले पालिका तहको विकासमा साथ दिएका हौं ।’ गलकोटमा भवन निर्माण संहिता पालना गराउने, सडक मापदण्डलाई कायम गरेर भवन निर्माणको नक्सापास गराउन पहल गर्ने लगायतको काममा आयोजनाले साथ दिने उनले बताए । आयोजनाकै साझेदारीमा गलकोट नगरपालिका वडा नं. २ मा सार्वजनिक शौचालय पनि बनेको छ ।





