पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले एमालेका नेता कार्यकर्तालाई अव कुन खरानी घस्न बाँकी रहेको छ र भन्दै प्रश्न गरेका छन् । एमालेमा ५० वर्ष संगत गरेका साथीहरुलाई सम्झिदै उनले नेकपाको २ तिहाईको खरानी घसेको, एमालेको र ऐतिहासिक धरोहर जलाएर खरानी घसेकाले अव केको बाँकी छ भन्ने प्रश्न गरेका हुन् ।
एमाले र कांगे्रसको शक्तिशाली सरकार आएपछि हेर्ने भनेको के हेर्ने ? खरानी हेर्नेकी, प्रधानमन्त्री भागेको हेर्नेकी, शक्तिशली धरासायी भएको हेर्ने भन्दै उनले यस विषयबाट पाठ सिकेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन उनले आग्रह गरे । १० बुँदे कार्यान्वयन गर्दा एमाले खण्डित भएको भन्दै उनले विपरीत सिद्धान्त रहेको कांग्रेससंग मध्यरातमा सम्झौता गरेर आधा आधा बाडेर खाऔ हामी शक्तिशाली छौ कसैले केही गर्न सक्दैनौ भनेर दम्भ देखाएको रावलले बताए । ‘यही ताल, यही अहंकार, दम्भ, कुशासनले मिसन ८४ बाट पतन ०८४ हुन्छ प्रतिक्षा गर्नुस् भनेको थिए’, उनले भने, ‘मैले घमण्ड त गर्नु हुदैन भविष्यवाण्ी ठ्याक्कै पो मिलेछ ।’
त्यो पार्टी (एमाले) खरानी त भयो भयो, हाम्रो व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाका केन्द्रहरु, हाम्रा दस्तावेजहरु, हाम्रा स्वाधिनताका प्रतिकहरु आगोमा जलिरहँदा देशको प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद् बैठक र केन्द्रीय सुरक्षा समितिको बैठक नबोलाएको उनले बताए । बरु बालुवाटारको भवनमा सुरक्षाकर्मिलाई म पद छोड्दै छोड्दिन भनेर अडिरहेको र ढोका खुलेर आगो सल्किन थालेपछि हेलिकोप्टर चढेर भागेको उनको भनाई थियो । ‘प्रधानमन्त्री र गृहमन्त्री देशका नायक र कमान्डर हुन् आफु खरानी हुनसक्छन तर देशलाई खरानी हुनबाट जोगाउछन’, उनले भने, ‘तर जोगाउन सकेनन् ।’ नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सुरक्षा, स्वाधिनता, कुटनीति, अर्थनीति, संस्कृति, विकासका लागि निर्माण भएको उनले दावी गरे । नेकपाले देशको शीर नझुक्ने, र नेपाली जनताको समृद्धिको यात्रालाई कसैले नरोक्ने गरी यात्रामा बढेको उनको भनाई थियो ।





