पोखरा/लामो रस्साकस्सीपछि एमाले कास्कीले ११ औं महाधिवेशनको लागि प्रतिनिधि टुंग्याएको छ । १ सय २२ जनाको उम्मेवारी परे पनि सर्वसम्मतिको नाममा यहाँ उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी पक्षले भागबण्डा गर्दै आफू अनुकूलका व्यक्तिलाई नै प्रतिनिधि तोकेका हुन् ।
जस अनुसार कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट वैनबहादुर क्षेत्री,वेदबहादुर गुरुङ, दर्शन लामा, टीकाराम पँगेनी खुलातर्फबाट र नवराज ओझा युवाबाट प्रतिनिधि बनेका छन् । यीमध्ये वैनबहादुर एमाले कास्कीका अध्यक्ष हुन् । वेदबहादुर गण्डकीका सभासद,दर्शन एमाले कास्की सचिव र नवराज रुपा गाउँपालिका अध्यक्ष हुन् ।
महिलातर्फबाट रक्षा भट्टराई र विजया सुवेदी प्रतिनिधि बनेका छन् । क्षेत्र नम्बर २ बाट तेजनारायण अधिकारी,रामप्रसाद खनाल र भेषराज बराल र रश्मी आचार्यको नाममा सहमति बनेको छ । युवामा विजय पौडेल र महिलामा हीरा गिरी र सिर्जना शर्मा प्रतिनिधिको रुपमा आएका छन् ।
क्षेत्र नम्बर ३ बाट माधव बास्तोला,दीपक पौडेल, जगन्नाथ बास्तोला, लालबहादुर परियार,युवामा भरतमान गुरुङ र महिलामा गीता विश्वकर्मा र शोभा पहारीलाई प्रतिनिधि चयन गरिएको छ । क्षेत्र नम्बर ३ का माधव यसअघि कास्की अध्यक्षमा पराजीत उम्मेदवार हुन् भने दीपक पौडेलको अघिल्लो चुनावमा अन्तिममा आएर मेयरको टिकट काटिएको थियो । जगन्नाथ चाहिँ यसअघिका गाउँपालिका अध्यक्ष हुन् । उत्पीडित क्लष्टरबाट दानबहादुर विक र प्रेम विक प्रतिधिनि बनेका छन् ।
सर्वसम्मतिको लिष्ट तयार पार्न स्थायी कमिटी सदस्य खगराजसहित केन्द्रीय सदस्यहरु कृष्ण थापा,भीम कार्की र कास्की अध्यक्ष वैनबहादुरसहितको टोलीबीच लामो छलफल भएको थियो । शनिबार साँझ नै नामको टुंगो लागे पनि क्षेत्र नम्बर ३ बाट संस्थापन पक्षसँग असहमति राख्ने माधवसहितको नाम आएपछि त्यसमा खगराज पक्षले असहमति जनाएको थियो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका नेता संजिवबहादुर कोइरालाले पनि यो निर्णयप्रति असन्तुष्टि जनाउँदै लिखित रुपमै प्रक्रियाअर्थात् चुनाव हुनुपर्ने माग गरेका थिए । उनले सहमतिको नाममा भएको निर्णयप्रति असन्तुष्टि जाहेर गर्दै बुझाएको निवेदनसहित सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ हाम्रो पार्टी कति लोकतान्त्रिक छ ! मेरो निवेदन खोस्टो बनाइदिनु भएकोमा क.भेषराज बराल,क.कृष्ण थापा्,क.जगत बिक र क.खगराज अधिकारीज्यूलाई हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको शुभकामना !’
सहमतिमा प्रतिनिधि चुनिँदा गण्डकीबाट एमालेको प्रतिनिधित्व गर्ने दामोदर बैरागी र मनबहादुर गुरुङ, प्रदेश सांसदहरु गणेशमान गुरुङ,देवका पहारी,राजकुमारी भुजेल,नन्दकला नेपाली र अन्नपूर्ण गाउँपालिका प्रमुख विष्णु केसी पनि बाहिर परेका छन् ।
यता, हिजो पृथ्वीसुब्बा पक्षधर भनेर चिनिएको समूह भने प्रतिनिधि चयनमा सन्तुष्ट देखिएको छ । ‘अहिलेका प्रतिनिधि ७० प्रतिशत हाम्रा हुन्,सहमति हुँदा ठीकै भएको छ,सो पक्षधर एक नेताले भने ।
अहिले प्रतिनिधि बनेकामध्ये ५० प्रतिशत विद्या भण्डारीको सदस्यता नवीकरण पक्षधर भएको पनि उनले बताए । पृथ्वीसुब्बा र खगराज पक्षधर नेताहरुले गण्डकीबाट केन्द्रीय पदाधिकारी वा केन्द्रीय सदस्यमा जो उठे पनि अहिले चुनिएका प्रतिनिधिले सघाउने सहमति गरेपछि सर्वसम्मत लिष्ट तयार भएको एमालेका एक नेताले बताए ।
गोर्खामा भएको चुनावबाट क्षेत्र नम्बर १ को खुलातर्फ मोहन भट्टराई र विशाल थापा, युवामा प्रविण अधिकारी र महिलनामा मीना बराम चुनिएकी छन् । क्षेत्र नम्बर २ को खुलामा प्रेम गुरुङ, र बाबुराम थापा, युवामा सुमन श्रेष्ठ र महिलामा शान्ति चापागाईं निर्वाचित हुँदा उत्पीडितबाट कृष्ण नेपाली चयन भएका छन् ।
खुल्लातर्फको प्रतिनिधिका लागि क्षेत्र नं. १ बाट मनोज जोशी, मोहन भट्टराई, धनेन्द्र धमला, विशाल थापा र सन्तबहादुर गुरुङले उम्मेद्वारी दिएका थिए । त्यस्तै सोही पदका लागि क्षेत्र नं. २ बाट प्रेमबहादुर गुरुङ, बाबुराम थापा, ओमबहादुर बराकोटी, वसन्त गुरुङ र टेकबहादुर रानाले उम्मेद्वारी दिएका थिए ।
महिलातर्फ क्षेत्र नं. १ बाट नानीमाया थापा र मीना बरामु, क्षेत्र नं. २ बाट शान्ति चापागाईँ र गम्भीरा बराकोटीले उम्मेदवारी दिएका थिए ।युवा प्रतिनिधिका लागि क्षेत्र नं. १ बाट प्रवीण श्रेष्ठ, प्रवीण अधिकारी, शैलेश लामिछाने र सञ्जित श्रेष्ठको उम्मेद्वारी परेको थियो ।
क्षेत्र नं. २ बाट प्रकाश न्यौपाने र सुमन श्रेष्ठको उम्मेदवारी परेको थियो । त्यस्तै दलित निर्वाचन क्षेत्रबाट कृष्ण नेपाली निर्वाचित भएका छन् । दलित निर्वाचत क्षेत्रकाका लागि काजिराम रोका, कृष्णबहादुर नेपाली र सचिन रोकाको उम्मेदवारी परेको थियो ।
तनहुँ क्षेत्र नम्बर २ मा खुलातर्फ श्रीप्रसाद श्रेष्ठ र राजेश्वर ढकाल,महिलामा विर्सना श्रेष्ठ र विष्णुमाया पराजुली,युवामा उज्ज्वल खनाल चुनिएका छन् । क्षेत्र नम्बर १ मा चाहिँ चुनाव भएको थियो । तर, मतगणनाको क्रममा त्यहाँ दुई पक्षबीच हातहाल हुँदा गणना कार्य स्थगित भएको छ ।
पर्वतबाट खुलातर्फ गोविन्द पहाडी, राजुप्रसाद पौडेल,पदमपाणि शर्मा, इश्वरीप्रसाद भुषाल,देवेन्द्रराज पाण्डे र शिव पौडेल प्रतिनिधिको रुपमा मनोनित बनेका छन् । युवामा विमल लामिछाने, महिलामा हीराकुमारी शर्मा,कमला पन्त,हेमकुमारी अधिकारी र यामकुमारी राना रहेका छन् ।
उत्पीडिततर्फ विष्णुराम बिक, निर्मल नेपाली र शर्मिला नेपालीलाई चयन गरिएको छ । यहाँ केन्द्रीय निर्देशन अनुसार नै सर्वसम्मतिमा नाम टाँसिएको हो । त्यसमा एमाले पर्वतको दुई कार्यकाल अध्यक्ष रहेका तथा प्रदेश सांसद र मन्त्री बनिसकेका विकास लम्सालको नाम छैन । उनले आफूलाई बाहिर राख्न सहमतिको नाममा षड्यन्त्र गरेको गुनासो गरेका छन् ।
म्याग्दीबाट खुलातर्फ बालकृष्ण सुवेदी र हरिकृष्ण श्रेष्ठ, युवामा प्रकाश पौडेल,दलितमा खरमाया बिटालु र महिलातर्फ थमसरा पुन र यसुदा रोका सर्वसम्मत प्रतिनिधि चयन भएका एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
नवलपुर क्षेत्र नम्बर १ मा भएको चुनावबाट नरदेव न्यौपाने, भीमलाल कँडेल,मुक्तिराम पाण्डे र रोशन गाहा मगर खुलाबाट निर्वाचित बनेका छन् । खुलामा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । युवामा इञ्जिनियर दीपेन्द्र सुनारी र विद्रोही गिरीबीच प्रतिस्पर्धा हुँदा सुनारी विजयी बने । महिलामा ४ जना प्रतिस्पर्धी हुँदा कोपिला पौडेल र पार्वता तिवारी विजयी बने ।
नवलपुर क्षेत्र नम्बर २ को निर्वाचनबाट बाबुराम पाण्डे,भिमलाल अधिकारी ,भेषबहादुर अधिकारी,रोशन थापा,.कृष्ण गैरे,फुलकुमारी थनेत र बालु पुरी विजयी बनेका छन् । मुस्ताङमा सहमतिको प्रयास जारी रहेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिएका छन् भने लमजुङमा भएको चुनावको परिणाम यो समाचार तयार पार्दासम्म आइसकेको छैन ।
एमालेको ११ औं महाधिवेशनको लागि प्रतिनिधि छान्न गण्डकीमा ३ जिल्लामा मात्र निर्वाचन भएको छ । नवलपुर,गोर्खा र लमजुङबाहेकका ८ जिल्लामा चाहिँ सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले गण्डकीले जनाएको छ ।
बागलुङमा सहमतिको नाममा क्षेत्र नम्बर १ बाट खुलामा हीराबहादुर खत्री, गणेश थापा र लालबहादुर थापा चयन भए । महिलातर्फ ममतादेवी शर्मा र सरस्वती खड्का परियार चयन हुँदा युवाबाट सिर्जना पन्त सर्वसम्मत भइन् । क्षेत्र नम्बर २ बाट खुलामा भीमप्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दानबहादुर श्रीस सर्वसम्मत चयन भएका छन् । दलित क्लस्टरमा धनबहादुर परियार सर्वसम्मत बनेका छन् ।
स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं. १ मा खुला तर्फ नारायणप्रसाद मरासिनी, सुधीरकुमार पौडेल, महेश पुरी र चुनप्रसाद शर्मा प्रतिनिधि बनेका छन् । महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा तथा युवा प्रतिनिधिमा अमृत नेपाली चयन भएका छन् ।
यस्तै, क्षेत्र नं. २ मा खुलाबाट सूर्यप्रसाद गैह्रे (पारस), रामचन्द्र भट्टराई र खिमबहादुर थापा चयन भएका छन् । महिलाबाट खगीसरा थापा, भीमा बराल थापा र ४० वर्षमुनिका युवाबाट विश्वनाथ अर्याल प्रतिनिधि बनेका छन् । दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन भएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।
मनाङबाट खुलातर्फ कप्ली गुरुङ र चिनबहादुर घले तथा युवातर्फ मदन गुरुङ,दलिततर्फ शान्तामाया परियार,महिलातर्फ रत्नकुमिर गुरुङ प्रतिनिधि बनेका छन् । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।





